काेराेनामुक्त भएकाे ६ महिनापछि लक्षण, डब्लुएचओ भन्छ– यो वर्षको अन्त्यसम्म ‘हर्ड इम्युनिटी’ विकास हुँदैन

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ ।

शुक्रबार मेडिकल जर्नल द ल्यानसेटमा प्रकाशित अध्ययनमा चिनियाँ सहर वुहानमा १७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएको महिनौं पछि पनि लक्षण देखिएको दाबी गरिएको छ।

‘निको भए पनि यसले संक्रमण पुष्टि भएको ६ महिनापछि पनि थकान र सुत्नमा समस्याको लक्षण सबैभन्दा धेरै, क्रमशः ६३ र २६ प्रतिशतमा मानिसको स्वास्थ्यमा असर पुर्‍याइरहेको छ,’ अध्ययनले भनेको छ। 

२३ प्रतिशतमा एङ्जाइटी र डिप्रेसनको समस्या पाइएको पनि उक्त उल्लेख गरिएको छ । सिकिस्त बिरामी भएकाहरुको एक्स–रे गर्दा फोक्सोमा समस्या देखिएपनि अध्ययनकर्ताको दाबी छ।

गतवर्ष चीनको वुहानदेखि फैलिएको कोरोना भाइरसले अहिलेसम्म ९ करोड १३ लाख मानिस संक्रमित भएका छन् भने १९ लाख ५२ हजारले ज्यान गुमाएका छन्। 

यो वर्षको अन्त्यसम्म कोरोनाविरूद्ध ‘हर्ड इम्युनिटी’ विकास हुँदैनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२१ को अन्त्यसम्म पनि कोरोना भाइरसविरूद्ध हर्ड इम्युनिटी (सामूहिक प्रतिरोध क्षमता) विकास नहुने बताएको छ।

धनी मुलुकहरूले धमाधम कोरोनाको भ्याक्सिन लगाउन थालेको भए पनि हर्ड इम्युनिटी विकास नहुने डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले बताइन्। 

‘सन् २०२१ मा हामी कुनै पनि प्रकारको पपुलेसन वा हर्ड इम्युनिटी हासिल गर्न सक्दैनौं,’ सोमबार जेनेभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्,‘कुनै देशको पकेट एरियामा त्यस्तो हर्ड इम्युनिटी बने पनि संसारभरिका मानिसलाई यसले जोगाउन सक्दैन।’

स्वामीनाथकले विश्वका सरकार र मानिसहरुले कोरोना संक्रमण नियन्त्रणका लगि आवश्यक पर्ने भौतिक दूरीलगायतका मापदण्डहरु पालना गर्नुपर्नेमा जोड दिएकी थिइन्।

उनले एक वर्षभित्रै खोप विकासको क्षेत्रमा ठूलो प्रगति भएको पनि बताएकी छिन्। यद्यपि सबै मानिसमा खोप पुर्‍याउन भने समय लाग्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-01-12 11:53:00

प्रतिकृया दिनुहोस्