घर बेचेर कम्बोडिया हिँडेका युवा, भैंसी बेचेर न्याय खोज्दै राजधानीमा  {भिडियाेसहित}

कमल विक

काठमाडाैं

युरोपमा गएर पैसा कमाएर सुखमय जीवन बिताउँला भन्ने सपना बोकेका मोरङ, सुन्दर हरैचा नगरपालिका–४ का सूर्य बहादुर खड्का अहिले काठमाडौंमा न्यायको खोजीमा भौतारी रहेका छन्।

वैदेशिक रोजगार पिडितका लागि निःशुल्क कानुनी सहायता केन्द्रमा भेटिएका सूर्य बहादुर २०७६ मंसिरमा रोजगारको लागि कम्बोडिया जान भनेर घरबाट हिँडेका थिए। सूर्य बहादुर आफ्नो घर छेउकी लोकमाया राईको प्रलोभनमा परी पाँच लाख तिरेर कम्बोडियाको लागि हिँडेका हुन्। उनले कम्बोडिया जान आफ्नो घर जग्गा बैंकमा धितो राखे। 

काठमाडौं आएको एक सातामा सूर्य बहादुरलाई लोकमायाले त्रिभुवन विमानस्थल हुँदै भिजिट भिसामा थाइल्याण्ड पठाइन्। लोकमायाले थाइल्याण्ड हुँदै कम्बोडिया पठाउने योजना सुनाएकी थिइन। सूर्य बहादुरलाई थाइल्याण्डमा लोकमायाका मान्छेले १० दिनसम्म राखेपछि पैदल मार्ग हुँदै कम्बोडिया पठाए। सूर्य बहादुर कम्बोडिया पुग्दा उनकै गाउँका धेरै साथीसहित करिब २ दर्जन नेपाली भेटिए, जुन लोकमायाकै माध्यमबाट कम्बोडिया पुगेका थिए।

यसअघि सुन्दर हरैचा नगरपालिका–४ कै शेर बहादुर खड्का, सूर्य बहादुर खत्री, नारायण अधिकारी, पद्म कुमार राई तथा लेटाङ नगरपालिका–८ का हेमकर्ण लिम्बु, सर्लाही बाग्मती नगरपालिका–३ का नन्द बहादुर बुढाथोकी, धनकुटा नगरपालिका–६ का मणीम कुमार राई गरी २४ जना युवा लोकमायाको माध्यमबाट कम्बोडिया पुगिसकेका थिए। 

२०७६ कार्तिक तिर लोकमायाले गाउँका युवालाई कम्बोडियामा राम्रो आम्दानी हुने। त्यहाँ मासिक १ लाख २० हजार सम्म आम्दानी हुने भन्दै उत्साह थपेकी थिइन।  राम्रो आम्दानी हुने भनेपछि गाउँका धेरै युवाले कम्बोडिया जानको लागि लोकमायाको टिमलाई ५ लाखको दरले पैसा बुझएका थिए। पैसा बुझाएको १०–१२ दिनमा सूर्य बहादुर जस्तै २४ जना युवालाई पालैपालो भिजिट भिसामा थाइल्याण पठाइन्। थाइल्याण्डबाट ती युवालाई लोकमायाका मान्छेले कम्बोडिया पठाए। 

ती युवालाई कम्बोडियासम्म पुर्‍याउने एजेण्टहरुको टिम रहेको खुलेको छ। नेपालबाट सुन्दर हरैचा नगरपालिकाकी लोकमाया राईले थाइल्याण्ड पठाउँछिन्। थाइल्याण्डबाट उनका मान्छेले पैदल यात्रा हुँदै कम्बोडिया पठाउँछन। कम्बोडियामा बस्ने धनकुटा, सहिद भुमि नगरपालिकाका सागर राई तथा केदार राई र उनकी श्रीमती स्नेह राई, किसान राई र हरी कुमार राईले कामको व्यवस्था मिलाई दिने गर्छन। न उनीहरुसँग कम्पनी छ, न इजाजत नै। नेपालमा युवालाई विभिन्न प्रलोभन देखाएर बोलाएर अलपत्र पार्छन। 

सुरुमा लोकमायााले श्रमस्वीकृती बनाएर कम्बोडिया पठाउने बताएकी थिइन। तर काठमाडौं आएपछि भिजिट भिसामा थाइल्याण्ड हुँदै कम्बोडिया जानु पर्ने बताएको र आफुहरुसँग त्यो बाहेक अन्य बिकल्प नभएको शेर बहादुर खड्काले बताए। 

सडक–हवाई र पैदल मार्ग हुँदै कम्बोडिया पुगेका युवाहरुलाई सागर राई र केदार राई तथा उनकी श्रीमती स्नेह राईले कन्स्ट्रकशनको काम खोजेर लगाई दिए। ‘हामीलाई सुरुमा आफ्नै कम्पनी छ, त्यहीँ कम्पनीमा काम लगाई दिन्छौ भनेका थिए। तर कम्बोडिया पुगेपछि थाहा भयो उनीहरु त ठेकेदार पो रहेछन्,’ शेर बहादुरले बिएल नेपाली सेवासँग भने, ‘सुरुको २ महिना उनीहरुले लगाइ दिएको कन्स्ट्रकशनको काम गरियो। २ महिनाको तलब पायौं। त्यो रकम घर पठाउन दिएका थियौ तर उनीहरुले पठाइ दिएन्छन्। आफै खाएछन्। हामी तलब आउँला त नी भन्दै उनीहरुले लगाएको काम गरियो तर एक पैसा हामीलाई आएन । उनीहरु हामीलाई काममा लगाउँदै पैसा आफै लिने गर्दा रहेछन्। १० महिनासम्म तलब नआएपछि हामीले घरबाट पैसा मगाएर खर्च चलायौं।’ 

१० महिनासम्म तलब नपाएपछि आफूहरूले उजुरी हालेको बताए। ‘यसपछि उनीहरु र हाम्रोबीच सम्झौंता भयो। उनीहरुले ९२ हजार डलर तिर्ने भएका थिए। तर पैसा र पावर हुनेलाई जहाँ पनि जे गर्दा पनि हुँदो रहेछ। उनीहरु पुलिससँग सेटिङ मिलाएर १५ हजार डलर तिरेर त्यहाँबाट फरार भए, त्यसपछि उनीहरुलाई भेटेका छैनौ,’ पिडित युवाहरुले बताए।

कम्बोडियामा सबै व्यवस्था मिलाइ दिने भनेकाले नै ठगेर फरार भएपछि युवाहरुले त्यहाँ धेरै दुख भोग्नु पर्‍यो। पिडितमध्येका एकले अमिलो अनुहार बनाउँदै भने,‘कति दिनसम्म त भोकै बस्नु पर्‍यो। एउटा रोटी ४ जनाले बाढेर खानुपथ्र्यो। मरिन्छ कि भन्न लागेको थियो।’

विश्वास गरिएकाबाटै ठगिएपछि उनीहरु एनआरएनको सहयोगमा केही दिनउतै बसे। त्यसपछि थाइल्याण्डको दुतावासको ढोका ढकढकाउन पुगे। तर दुतावासले भोलीभोली भन्दै उनीहरुलाई वास्ता गर्नै छाड्यो। ‘कुरा सुन्ने, काम नगर्ने बरु उल्टै दुःख दिने गर्‍यो। दुतावासका मान्छेले नेपाल पठाउने भनेर हामीसँग टिकटको लागि प्रति व्यक्ति ७२ हजारका दरले १७ लाख पैसा लिएको थियो। उनीहरुले आफ्नै ट्राभलबाट टिकट काट्दिने भन्दै पैसा लगेका थिए। तर त्यो टिकट कहाँ गयो। हामीलाई थाहा भएन। भोलीभोली भन्दै झुलाउने काम मात्रै भयो। पछि हामी एनआरअएनको सहयोगमा नेपाल फर्कियौ’ उनीहरुले भने। उनीहरु कम्बोडियाबाट १३ महिनामा नेपाल फर्किएका हुन्।  

पीडितमध्येका धेरै जसो मध्यम परिवारका छन्। धेरैले कम्बोडियामा राम्रो आम्दानी हुन्छ, भनेर घर, जग्गा बेचेर र बैंकमा धितो राखेर ऋण लिएर विदेश गएका थिए। अहिले नेपाल फर्किएपछि बैंकले र साहुले सताउन थालेका छन्। कसैको घरमा घरायसी खर्च चलाउनै मुस्किल भएको छ। 

नेपाल फर्किपछि उनीहरु न्यायको लागि स्थानीय तह, प्रहरी कार्यलयमा पुगे। प्रहरीको सुझावमा अहिले काठमाडौंमा आएका छन्। उनीहरुलाई हामीले वैदेशिक रोजगर पिडितका लागि निःशुल्क सहायता केन्द्रमा भेटेका थियौ। उनीहरु केन्द्रको सल्लाहअनुसार न्यायको बाटो अपनाईरहेका छन्। वैदेशिक रोगारमा जाँदा लागेको खर्च र १० महिना काम गरेर नपाएको पैसा पाइयोस् भन्ने उनीहरुको चाहना छ।  उनीहरु प्रत्येकले करिब १० लाख पैसा फसाएका छन्। आर्थिक समस्याका कारण अहिले काठमाडौंसम्म आउँदा घरमा भएका बाख्रा, भैंसी बेचेर आएको बताए।

प्रकाशित मिति: : 2021-01-10 19:35:00

प्रतिकृया दिनुहोस्