'जहाँ ओली त्यहाँ सूर्य चिन्ह, जहाँ सूर्य चिन्ह त्यहाँ जनता'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कुमार दसौदीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको बताएका छन्। 

उनले रोल्पाका नेकपा नेता कार्यकर्तालाई एकजुट भएर सबैलाई अध्यक्ष ओलीले नेतृत्व गरेको नेकपा पार्टीलाई साथ दिन आग्रह गरेका छन्।

‘सूर्य चिन्ह हाम्रो हो। रोल्पाका नेकपा नेता कार्यकर्तालाई मेरो आग्रह छ, सूर्य चिन्ह र नेकपा बारे कुरो स्पष्ट छ। जहाँ केपी ओली हुनुहुन्छ! त्यो नै नेकपा हो, र त्यहाँ नै सूर्य चुनाव चिन्ह हुन्छ’, उनले भने।

नेकपा त्रिबेणी गाउँपालिका कमिटीले शनिबार आयोजनामा गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता दसौदीले प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेकै मितिमा निर्वाचन हुने जिकिर गरे।

कार्यकर्ता भेलामा उनले भने,‘तपाईंहरु ढुक्क हुनुहोस्। प्रधानमन्त्रीज्यूले जनतामा जाने निर्णय गरिसक्नुभएको छ। चुनाव जसरी पनि हुन्छ। अहिले सडकमा पुगेकाहरु पनि निर्वाचन मा भाग लिन आउनैपर्छ र आउछन् पनि।’

प्रचण्ड र माधव नेपालको चौतर्फी घेराबन्दीले पार्टी संकटमा पुगेको बताएका छन्। पार्टीकै सांसदबाट अबिश्वासको प्रस्ताव दर्ता गरेर सरकार ढाल्न खोजेपछि बाध्य भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय गरेको उनले बताए।

रोल्पामा सबै एक भएर आगामी निर्वाचनका लागि गाउँगाउँमा होमिन कार्यकर्ता दसौदीले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-01-10 11:24:00

प्रतिकृया दिनुहोस्