मजदुरी नपाउने डर : पक्की घरमा बस्न मानेनन् मुसहर

स्थानीय सरकारले बनाइदिएको पक्की घर अपायक भएको भन्दै सिराहाको गोलबजार नगरपालिका क्षेत्रका विपन्न मुसहर परिवारले बस्न मानेका छैनन् ।

गोलबजार–३ जमदह कालाबन्जरमा भान्सा, शौचालयसहित चारकोठे टिनको छानो भएको १५ वटा पक्की घर तयारी अवस्थामा भए पनि मुसहरहरू बस्न मानेका छैनन् । पहिलो तलामा काठबाहेक झ्याल, ढोकासमेत हालिसकेको घर अपायक भएको उनीहरूको भनाइ छ । सडक क्षेत्रको ऐलानी जग्गामा छाप्रो हालेर बस्दै आएका गोलबजार नगरपालिका–८ नारायणपुर गाउँका भूमिहीन मुसहरहरू नयाँ घरमा सरेका छैनन् ।

मजदुरी गर्न बजार क्षेत्रमै झर्नुपर्ने भएकाले नगरपालिकाले बनाइदिएको घरमा बस्न नचाहेको उनीहरूको भनाइ छ । त्यहाँ रोजगारी नपाइने डरले नयाँ घरमा जान मन नलागेको स्थानीय ५५ वर्षीया सजनी सदायले बताइन् । ‘कान्छी छोरी र नातिनीले गाउँनजिकैको इँटाभट्टामा मजदुरी गरेपछि मात्र चुलो बल्छ, बजारबाट टाढा बनाएको बस्तीमा सरेपछि मजदुरी नपाएर भोकभोकै बस्नुपर्ने भएकाले सित्तैमा घर दिए पनि जान्नँ,’ सजनीले भनिन् ।

सडककिनारमै बनाइएको छाप्रोमा बसेर स्थानीय इँटाभट्टामा पाँच छोराछोरीसहित मजदुरी गर्दै आएका ५८ वर्षीय रामेश्वर सदायले पनि नयाँ घरमा सर्दा मजदुरी खोसिने डर भएको बताए । ‘ऐलानी जग्गा भए पनि बाजेकै पालादेखि बस्दै आएको ठाउँ छाड्न मन लागेको छैन,’ रामेश्वरले भने, ‘त्यसमा पनि गाउँले, इष्टमित्र छाडेर मजदुरी गर्न पनि गाह्रो पर्ने ठाउँमा कसरी सरौँ ?’

प्रकाशित मिति: : 2021-01-08 18:25:00

प्रतिकृया दिनुहोस्