सत्ता हस्तान्तरण नभएसम्म ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध

बिएल संवाददाता

न्युयाेर्क

फेसबुक कम्पनीका प्रमुख मार्क जुकरबर्गले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चितकालका लागि बन्द गराइएको जानकारी दिएका छन्।

शुक्रबार जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएका हुन्।

 बुधबार अमेरिकी संसद भवनमा ट्रम्पका सयौं समर्थकहरूले आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए।

राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसदको सत्रलाई रोक्ने र संसद भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए।

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद भवनका हलवेमा दौडेका थिए र विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए।

 ट्रम्पले फैलाएको हिंसामा परि चार जनाको मृत्यु भएको थियो। उक्त घटना पछि फेसबुकले २४ घण्टाका लागि उनकाे अकाउन्ट बन्द गरेकाे थियाे।

जुकरबर्गले विज्ञप्तिमा ट्रम्पले सामाजिक सञ्जालमार्फत संसद् भवनमा आक्रमण गर्ने आफ्ना समर्थकको निन्दा गर्नुको साटो प्रशंसा गरिरहेकाले अमेरिका मात्र नभई विश्व नै चिन्तित भएको बताएका छन्।

उनले ट्रम्पले आफ्ना उत्तराधिकारी जो वाइडेनलाई शान्तिपूर्ण र कानुनी रूपमा सत्ता हस्तान्तरण गर्न बाधा पुर्‍याउन चाहेको देखिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएकाे छ- ‘ट्रम्पलाई यो प्लेटफर्मको प्रयोग जारी राख्न दिँदा धेरै खतरा देखियाे। त्यसैले उनको फेसबुक र इन्स्टाग्राममा अनिश्चितकाल अर्थात् कम्तीमा अर्को २ हप्ता (सत्ता हस्तान्तरण नभएसम्म) प्रतिबन्ध लगाउन निर्णय गरेका छौं।’ 

अमेरिकाकाे संसद् भवनमा हुलदंगापछि टि्वटरले पनि ट्रम्पकाे अकाउन्ट १२ घण्टाका लागि बन्द गराएकाे जनाएकाे थियाे।  
 

प्रकाशित मिति: : 2021-01-08 07:40:00

प्रतिकृया दिनुहोस्