लोडसेडिङ कसले हटायो ? मैले.., होइन मैले पो !

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत बिहीबार नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरे । प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा पोखरेलले २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारणलाइन र विद्युत् खरिद सम्झौता गरेर लोडसेडिङ हटाउने आधार बनाएको बताएका थिए ।

‘प्रधानमन्त्रीको त्यो भूमिकालाई अवमूल्यन गरिकन लोडसेडिङ त कुनै एक जना व्यवस्थापकको कारण हो भनेर एक प्रकारको मनोविज्ञान तयार गरियो । २५० मेगावाट बिजुली कम भएपछि व्यवस्थापन गरेर बिजुली दिन सकिन्छ ?,’ उनले भने, ‘लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै मुख्य पक्ष थियो ।’

त्यसको तीन दिनपछि अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्क पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लोडसेडिङ हटाएको जस आफैंतिर खन्याए । कुलमान घिसिङलाई आफूले प्राधिकरणमा ल्याउन आवश्यक तयारी गरेको, तर नियुक्तिपत्रमा सही मात्र गर्न नभ्याएको भन्न भ्याए ।

‘मैले ल्याएको ९९ बुँदे मास्टरप्लानले लोडसेडिङ हटायो,’ उनले भने, ‘कुलमान घिसिङलाई नियुक्ति दिने बेलामा सरकार ढल्यो, सही गर्न जनार्दन शर्मा आइपुगे ।’

प्रकाशित मिति: : 2021-01-07 16:13:00

प्रतिकृया दिनुहोस्