विगत केही दिनयता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सार्वजनिक रूपमा देखा परेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको भेलामा देखा परेका थिए।
उनी हुलमुलमा थिए । त्यतिखेर उनको चेहरामा एक प्रकारको डर, मौनता, खिन्नता प्रकट भएको देखिन्थ्यो । आफू अहिले बोल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाभाइरससँग जोगिनका लागि मुखमा लगाएको मास्क आँखामुनि नै पुग्नेगरी तानेका थिए।
आफूलाई चिन्ने मानिसहरूसँग उनले अरू बेलामा भन्दा निकै असहज महशुस गरेको कुरा उनको शारीरिक हाउभाउबाट नै प्रस्ट हुन्थ्यो।
पानीमाथिको ओभानो बन्नका लागि मान्छेले केसम्म गर्छन्, त्यो उनको अनुहारमा देखिन्थ्यो । खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छा बाउको अनुहार भन्ने उखान उनले दिमागमा घुसाएरै हिँडेका छन् कि जस्तो लाग्थ्यो।
उनको शारीरिक हाउभाउको परिवर्तन देख्दा लाग्थ्यो, उनी निकै ठूलो तनावका बीचमा गुज्रिरहेका छन्। उनी केही भन्न चाहन्छन् तर त्यो भन्न नसक्ने परिस्थितिबाट गुज्रिएका छन् । यस्तो लाग्थ्यो कि उनको मुखमा हजारौँ कुरा आएर बसेका छन् तर अभिव्यक्त गर्नका लागि एउटा कुरा पनि लायक छैनन् । हो, नेम्वाङ काका विचलित मुद्रामा देखिन्थे।
प्रतिनिधि सभा विघटन भइसकेपछि कोही सडकमा 'हामी यहाँ छौं' भन्दै गए । कोही तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर जिल्ला दौडाहा गरेजस्तो ७ नम्बर गियर दबाएर हिँडिरहेका छन्। ती सिधै समुन्द्रमा हाम फाल्नुहोस् भन्ने अर्ति उपदेश दिन्छन् ।
कोही पृथ्वीनारायण शाहको जस्तो दिव्य उपदेश बाँडिरहेका छन् । तर हँसमुख चेहराका, फरासिला र मनमा लागेका कुरा निर्भीकताका साथ भन्न नडराउने, नियम कानून सबै जानेका, शक्ति र सत्ताको प्रभावमा झुक्न, रोकिन नजानेका नेम्वाङ काका अचानक कता हराए त ?