उपत्यकामा ज्यानमारा धुँवा

बाह्रखरी

काठमाडौँ

आकाश धुम्म हुनेबित्तिकै अस्ति सोमवार काठमाडौं संसारका प्रदूषित ५० सहरमा पनि सबैभन्दा अगाडि पुग्यो । धन्न थोरै भए पनि पानी परेकाले मंगलवारबाट प्रदूषणको मात्रा घट्यो र बुधवार घाम लागेकाले प्रदूषण अझै केही कम हुने अपेक्षा गरिएको छ । तैपनि अहिले काठमाडौंको प्रदूषणमा मात्रा मानव स्वास्थ्यका लागि हानिकारक नै छ । यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकेसम्म घरबाहिर ननिस्कन र बालबालिका तथा बूढापाकाको स्वास्थ्यको विशेष ख्याल राख्न उपत्यकावासी नागरिकहरूलाई अनुरोध गरेको हुनुपर्छ । सास फेर्ने हावा नै बिखालु भएपछि मानिसलगायत सबै प्राणीको जीवन संकटमा पर्छ । विशेषगरी प्रदूषित वायुले मानिसको फोक्सो र मुटुमा प्रत्यक्ष र तत्कालै असर गर्ने जोखिम विज्ञहरूले औंल्याएका छन् । अर्थात्, जनस्वास्थ्यमा पर्ने प्रदूषणको परिणाम राष्ट्रका लागि निकै महँगो हुन्छ ।

एकातिर वायु प्रदूषणले अति खतरनाक चिह्न पार गरिसकेको छ भने अर्कातिर कोभिड(१९ को संक्रमणको अर्को लहर सुरू हुने जोखिम पनि छँँदैछ । यसको अर्थ के हुन्छ भने यस पटकको वायु प्रदूषणलार्इ बेवास्ता गर्नु दोब्बर जोखिम निम्त्याउनु हो । प्रदूषणको मात्रा हिउँद याममा यसै पनि बढ्ने गर्छ । नेपालका सबै ठूला सहरमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यका लागि हानिकारक स्तरमा छ । त्यसमा पनि भूबनोट, जनसंख्या, सवारी साधनको संख्या आदिका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषण बढी नै हुनेगर्छ ।  साथै, तरार्इ र उत्तरी भारतबाट समेत उपत्यकाको वायु प्रदूषण बढ्छ । यसैले उपत्यकाको वायु प्रदूषण सजिलै नियन्त्रण पनि हुँदैन । तैपनि, वायु प्रदूषणको हानिकारक असरका तुलनामा यसप्रति राज्यले देखाएको हेलचेक्य्राइँ भने दुःखद विडम्बना हो ।

प्रकाशित मिति: : 2021-01-06 16:05:00

प्रतिकृया दिनुहोस्