नेहरूले नेपाललाई भारतकाे प्रान्त बनाउने राजा त्रिभुवनकाे प्रस्ताव अस्वीकार गरेका थिए: मुखर्जीकाे आत्मकथा

राजा त्रिभुवन वीर बिक्रम शाहले नेपाललाई भारतको एक प्रान्त बनाउने प्रस्तावलाई भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले अस्वीकार गरेकाे दावी पूर्व राष्ट्रपति प्रणव मुखर्जीको बहुचर्चित आत्मकथा 'द प्रेसिडेन्सियल इयर्स' मा गरिएको छ।

गत वर्ष दिंवगत भएका पूर्व राष्ट्रपति मुखर्जीकाे आत्मकथाको अध्याय ११ मा 'मेरो प्रधानमन्त्रीहरू: बिभिन्न शैली, बिभिन्न स्वभाव' शीर्षकमा याे दावी गरिएको हाे। मुखर्जीले लेखेका छन्, 'यदि इन्दिरा गान्धी नेहरूको स्थानमा भएको भए उनले सिक्किम जस्तो प्रान्त  बनाउने थिइन होला।'

पूर्वप्रधानमन्त्री तथा भारतका राष्ट्रपतिका बारे आफ्नो विचार व्यक्त गर्दै उनले भनेका छन्, 'हरेक प्रधानमन्त्रीको आफ्नै कार्यशैली हुन्छ। नेहरूले अरु भन्दा नितान्त भिन्न स्थान ओगटे। उही पार्टीबाट आएपनि उनले प्रधानमन्त्री हुँदा वैदेशिक नीति, सुरक्षा र आन्तरिक प्रशासन जस्ता मुद्दामा फरक धारणा राखे।'

नेहरूले नेपालसँग राम्राे कूटनीतिक व्यवहार गरेकाे मुखर्जीले लेखेका छन्। 'राजतन्त्रले नेपालमा राणा शासनलाई प्रतिस्थापन गरेपछि उनी प्रजातन्त्रको जड खोसेको हेर्न चाहन्थे। चाखलाग्दो कुरा के छ भने नेपालका राजा त्रिभुवनले नेहरूलाई नेपाललाई भारतको प्रान्त बनाउने सल्लाह दिएका थिए। तर नेहरूले प्रस्ताव अस्वीकार गरे। नेपाल स्वतन्त्र राष्ट्र हो र त्यस्तै रहिरहनु पर्छ भन्ने उहाँकाे धारणा थियाे,' उनले भनेका छन्।

मुखर्जीको पुस्तक, 'द प्रेसिडेन्सियल इयर' प्रकाशन गर्ने क्रममा केही दिन अगाडी उनका छोरा र छोरीबीच झगडा भएकाे थियाे।

मुखर्जीका छोरा अभिजीतले पुस्तकको अन्तिम छपाई राेक्न चाहेका थिए। तर मुखर्जीकी छाेरी शर्मिष्ठाले पुस्तक प्रकाशनमा अनावश्यक अवरोध सिर्जना गर्नु आवश्यक नरहेकाे बताएकी थिइन। 'म मेरो भाई अभिजीत मुखर्जीलाई अनुरोध गर्दछु कि हाम्रा बुबाले लेखेका अन्तिम पुस्तकको प्रकाशनमा अनावश्यक अवरोध खडा नगरियाेस्,' शर्मिष्ठाले ट्वीट गरेकी थिइन।

प्रकाशित मिति: : 2021-01-05 23:39:00

प्रतिकृया दिनुहोस्