मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का सन्दिप भण्डारीको रहस्यमय मृत्यु भएको भन्दै पीडित परिवारले नेकपा (ओली) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा १८ बर्षीय छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथि छानविन गर्न माग गरेका हुन् ।
नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनले आरोप लगाए ।
उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए । केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको उनको भनाई छ ।
बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए ।
घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए ।
आफूहरुले बास्कोटाविरुद्ध किटानी जाहेरी दिएको सन्दिपका दाजु दिवस भण्डारीले बताए ।
‘अहिलेसम्म बास्कोटा पक्राउ नपर्नुले पनि प्रहरीकै मिलोमतो हुन सक्ने उनले आशंका गरे । दोषी हो वा होइन अनुसन्धानबाट खुल्ने हो तर, खोई अहिलेसम्म बास्कोटा किन पक्राउ परेनन्?,’ दिवशले प्रश्न गरे ।
बास्कोटा खराब ब्यक्ति भएको र उनीसँग हिमचिम नगर्न भाइलाई पटकपटक भनेपनि नमानेका कारण यो घटना भएको उनको भनाई छ ।
पौष १४ गते विहान नेता बास्कोटाको घरमा भण्डारीको सुतेकै ठाउँमा मृत्यु भएको थियो । यसविषयमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिपकुमार गिरीसँग बिएल नेपाली सेवाले बुझ्न सम्पर्क गर्दा फोन उठाएनन् ।