भारतमा जुलाईसम्म ३० करोडलाई खोप लगाउने तयारी

भारतमा पनि कोरोना भाइरसको दुई वटा खोपले स्वीकृति प्राप्त गरेको छ। 

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया(डीसीजीआई)ले अक्सफोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको कोभीशिल्ड र कोभ्याक्सिनलाई इमर्जेन्सी उपयोगका लागि स्वीकृति प्रदान गरेको हो। 

हाल कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण पनि भइरहेको छ। यो भारतीय कम्पनी भारत बायोटेकले निमार्ण गरेको हो। जसको अन्य देशमा पनि माग रहेको छ। ब्राजिलले कोभ्याक्सिनका लागि भारतसँग ५० लाख डोजका लागि सम्झौंता पत्रमा हस्ताक्षर गरेको सोमबार भारतीय अखबारले जनाएको छ। 

भारतमा निर्माण भएको कोरोनाको भ्याक्सिन सतप्रतिशत सुरक्षित रहेको दिल्लीस्थित एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले बताए। उनले दोस्रो डोज प्राप्त गरेको दुई सातामा शरिरभित्र एन्टीबडी डेभलप हुने बताए। 

भारत सरकारले आउँदो जुलाईसम्म ३० करोड मानिसमा खोप लगाउने लक्ष्य राखेको छ। परीक्षणका लागि कोभ्याक्सिनको तेस्रो चरणको खोप २२ हजार मानिसलाई दिइएको आइसीएमआरका महानिर्देशक प्रोफेसर बलराम भार्गवले बताएका छन्।

प्रकाशित मिति: : 2021-01-04 15:45:00

प्रतिकृया दिनुहोस्