ढुङ्गा हानेर फूलको अपेक्षा राखेर आयौ।
भत्काई किनार पुलको अपेक्षा राखेर आयौ।
पग्लिएर नरित्तिने अटल हिमाल हुँ म
मुठ्ठीमा भर्ने धुलको अपेक्षा राखेर आयौ
मुर्खताले पनि पराकाष्ठा नाघिसकेछ कि!!
घोच्दा नदुख्ने शूलको अपेक्षा राखेर आयौ
रित्तिसके ती वेदनाहरू तिमीले दिएका
कि त!! आँसुका मूलको अपेक्षा राखेर आयौ
‘एउटा भ्रममात्र हो क्षितिज’ भन्ने तिमीले
मिलनका बिगुलको अपेक्षा राखेर आयौ।।