शुस्माका ११ मुक्तक

ठिकै थियो दिमाग उथलपुथल बनायौ
शान्त मनलाई पनि अति चञ्चल बनायौ
के के गरौंला भनि योजना थियो भोलिको,
हरपल डाक्टर तिमी चाहिने पागल बनायौ

कसको के लागोस र सङ्गत खराब भएसी
गयो सक्कियो जिन्दगी लत खराब भएसी
भ्रस्टाचार पनि प्रेम जस्तै अन्धो हुन्छ क्या हो
के सङ्कट के महामारी नियत खराब भएसी

अरु कसैबाट  केही आशा लागेपछि
सम्झिए हुन्छ फसियो दशा लागेपछि
छोड्न पनि सकिन्छ लत लागे रक्सिको 
छुट्टिनै नसक्ने प्रेमको नशा लागेपछि

मनमा भावना छदैछन् साभार कसका लागि गरौ
प्रेम प्रस्ताव आउँछन् अस्विकार कसका लागि गरौ
तिमी आउने अत्तोपत्तो छैन एक्लो छ जिन्दगी
दुनिया लट्ठ हुने बेकार शृङ्गार कसका लागि गरौ

सबै एउटै छन् शत्रु या मित्र कसरी चिन्ने
को असल को खराब चरित्र कसरी चिन्ने
घरको साधु बाहिर अल्लारे बन्छ भने
निश्चल कस्तो हुन्छ पबित्र कसरी चिन्ने

बाले भन्थे घर चल्दैन जवानी बेचेर
पसिना र रगतहरूका कहानी बेचेर
हिम्मत बढाइरहन्छ यस्ता कुराहरूले
कति जिउँछन् जिन्दगीभर पानी बेचेर

निधार मेरो तक्दिर तिम्रै छ 
त्यसैले त सधैं पिर तिम्रै छ 
अरु कोहिलाई हेरौं कसरी 
आँखामा पट्टी तस्वीर तिम्रै छ

लामो बाटो अफ्ठ्यारो छ हिँन्न सक्नुपर्छ 
समय प्रतिस्पर्धाको छ उछिन्न सक्नुपर्छ 
आवरण तिमीले चाहेजस्तै बनाउन सक्छौ   
रुप हैन मान्छेको स्वाभाव चिन्न सक्नुपर्छ

अनिकाल आयो तर काल आएन
आश्वासनसङ्गै चामल दाल आएन
भब्य स्वागत गरियो आशा बोकेर
तर भाग्य बदल्ने नयाँ साल आएन

स्वतन्त्रता खोज्छौ जेल हो र?
चिप्लो घस्ने रे घ्यु तेल हो र?
हारजितको कुरा कसरी आए
प्रेम पो गरेको कुनै खेल हो र?

पञ्चेबाजा तिम्रै घरमा बजाउँदा कस्तो भयो?
तिम्रै छेउमा आई कोही लजाउँदा कस्तो भयो?
सिन्दुर पोते रातो सारी खुब सुहाउँछ भन्थेउ मलाई
आफ्नै हातले उसको सिउँदो रङ्गाउदा कस्तो भयो?

प्रकाशित मिति: : 2021-01-02 16:52:00

प्रतिकृया दिनुहोस्