'अदालतमा विचाराधीन विषय कार्यसूचीमा राख्‍न मिल्दैन'

थाहा खबर

काठमाडौँ

संघीय संसदको सातौँ अधिवेशन शुक्रबार (भोलि) बाट शुरु हुँदैछ। सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि यो अधिवेशनमा राष्ट्रियसभाको बैठक मात्र सञ्चालन हुनेछ।

पुस १७ गतेभित्र संसदको अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रियसभाका बैठकहरू औपचारिकतामा मात्रै सीमित हुने भएको छ। यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बैठक सञ्चालन र कार्यसूचीबारे गरेको संक्षिप्त कुराकानी :

संसद् अधिवेशन बस्दैछ त्यसको तयारीको बारेमा जानकारी गराईदिनुस् न?

पहिलो कुरा त तयारी भनेको त्यसको व्यवस्थापकीय पक्ष हो। त्यो तयारीहरू सम्पूर्ण रूपमा पूरा भएको छ। खास गरीकन कोभिड–१९ का कारण केही समस्या हुने र त्यसको जोखिमलाई हेरेर तयारी के छ भन्नेकुरा नै आम रुपमा आउने हो। अन्यथा त नियमित हुने अधिवेशनहरूका लागि हामीसँग यथावत नै हुन्छ चलिरहन्छ।

बाहिरको कारणले हुने त बाहिर भइरहेको हुन्छ। तर, त्यहाँ गएको कारणले जोखिम बढ्यो भन्ने स्थिति नआउने र हाउस चलुन्जेल निर्वाध ढंगले जान सकियोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यो अनुसारका सुरक्षाका मापदण्डहरू नेपाल सरकारले तय गरेका, विश्व स्वास्थ्य संगठनले तय गरेका यी सबै मापदण्डहरूलाई आधार बनाएर तयारीहरू पूरा भएको छ। 

कार्यसूचीको कुरा गरौँ। विधेयकहरूको व्यवस्थापनशून्य समय, विशेष समयमा समय लिएर बोल्ने कुराहरू, यसलाई चाँहि कसरी व्यवस्थापन गरिन्छ?

हाउस सञ्चालन भइसकेपछि नियमित हिसाबले हाम्रा केही कार्यक्रमहरू अथवा त्यहाँका प्रक्रियामा जाँदा गरिने सबै कामहरू हामी नियमित गर्छौ। अधिवेशनहरूमा विधेयककै कुरा आउँछ। यो विधेयक अधिवेशन भनेर यसमा विधेयक मात्र हुने र वर्षे अधिवेशनमा अरू मात्रै भन्ने हुँदैन। वर्षे अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेटले गर्दा बढी त्यसको प्रभाव हुन्छ। तर, पनि त्यससँगै विधेयक नै हो आखिरी।  त्यहाँ पनि विधेयक नै जोडिएर आउने हो र सरकारी बिजनेस भएन भने हाउस चलिरहन सक्दैन।

प्रकाशित मिति: : 2020-12-31 16:12:00

प्रतिकृया दिनुहोस्