विगत १८ वर्षदेखि उनको यो नियमित जस्तै काम हो, एकाबिहान उठ्ने र मुलपानी गएर सागसब्जी किनेर नयाँ बानेश्वर चोकको पानीटंकीको अपोजिट आकाशे पुलको तल सार्वजनिक शौचालय भएको ठाउँमा बसेर बेच्ने।
बिहान र बेलुका नियमित रुपमा यो बाटोबाट हिड्ने मानिसहरुले उनलाई नचिन्ने प्राय: कोही छैन। कोही उनलाई बज्यै भनेर सम्बोधन गर्छन्, कोही आमै, कोही दिदी त कोही साउनी भनेर।
तर उनको नाम हो, डम्मर कुमारी मोक्तान। वर्ष ६६। यो बुढेसकालमा पनि उनी काठमाडौंको शून्य डिग्री चिसोमा उत्तिकै तनमनका साथ बिहान र बेलुका सागसब्जी बेचिरहेकी हुन्छिन्। उनले बेच्ने ताजा र हरियो सागसब्जी किन्नेको भिड नै लागेको हुन्छ। कुनै बेला त उनी खाजा खानसमेत भ्याउँदिनन्।
बुढेसकालमा उनको जोश र जागर देखेर जिब्रो टोक्नेको पनि कमि छैन। घरमा बसेर नातिनातिना खेलाउने उमेरमा उनी यति धेरै मिहिनेत किन गरिरहेकी छिन्? धेरै पाठकहरुलाई कौतुहलता जाग्न पनि सक्छ।
वास्तवमा डम्मर कुमारीको जन्म दोलखाको ग्याङमा भएको थियो। उनी बुवा बाबुलाल र आमा राम्रीकी माइली छोरी हुन्। उनी माथि एक दाजु र मुनि दुई भाइ र दुई बहिनी थिए।
आमाबुवाको दैनिकी खेतीपातीमा बित्थ्यो। ठूलो परिवार भएका कारण जति मिहिनेत गरे पनि खान मात्र ठिक्क पुग्थ्यो। घरको अवस्था नाजुक नै थियो। घरमा कमाउनेभन्दा खानेको संख्या बढी। यसै पनि जेठी छोरी त्यसैले उनले पनि सानैदेखि काम गर्नुपर्यो। घरको सारा काम– चुलोचौका, घाँसपात र दाउराको जोहो गर्दागर्दै उनलाई विधालय जाने सौभाग्य कहिले जुरेन। फेरि त्यति बेला गाउँघरमा छोरी मान्छेलाई पढाउने चलन पनि थिएन। उनका दाजुभाईले भने अध्ययनको अवसर पाए।
अर्काको घर जाने त हो नि भनेर छोरीहरुलाई पढाउन मान्दैन्थे। २० वर्षको उमेरमै उनको बिहे पनि भयो, आफूभन्दा पाँच वर्ष जेठा गाउँकै चन्द्रबहादुर तामाङसँग। माईतीमा निकै दु:ख गरेकी डम्मर कुमारीलाई बिहे गरेपछि श्रीमानको घरमा केही सुख पाउँला भन्ने आशा थियो। तर उनको सपना कहिल्यै पुरा भएन।
मध्यपानका अम्मली श्रीमान जहिल्यै रक्सी पिएर उनलाई गाली गर्ने र कुट्ने गर्थे। २४ वर्षको हुँदा उनको जेठी छोरी तथा २८ वर्षमा कान्छी छोरीलाई जन्म दिएका थिए। छोरी जन्मिएपछि श्रीमानले अझ बढी तनाव दिन थाले। उनलाई छोरा चाहियो भनेर सधै कुटिरहन्थे।
एकातिर श्रीमानको अत्याचार अर्कोतर्फ छोरीहरुको भविष्य, यो सम्झेर उनी २०४५ सालमा काठमाडौ भित्रिइन्। उनी काठमाडौं भित्रिनुको कारण थियो, बहिनी–ज्वाईको भरोसा। उनी काठमाडौं आउनुअघि नै उनको बहिनी–ज्वाई शान्तिनगरमा बसोबास गर्थे।
काठमाडौंमा सुरुका दिन उनले ज्याला मजदुरीबाट काम थालिन्, जसबाट दैनिक एक सय रुपैयाँ कमाई हुन्थ्यो। यसले परिवारको पेट पाल्ने कि छोरीहरुलाई राम्रो शिक्षा दिने? उनलाई धेरै मुश्किल पर्यो।
पुरानो कुरा सम्झिदा अहिले पनि मन अमिलो बनाउने डम्मर कुमारीले बिएल नेपाली सेवासँग भनिन्,'मैले मात्र कमाएको पैसाले कहाँ पुग्थ्यो र? छोरीहरुलाई के को धनले पढाउनु? जेठीले ५ र कान्छी छोरीले ९ कक्षासम्म मात्र पढ्न पाए।'
उनले ५ वर्ष काठमाडौंमा मजदुरी पेशा अपनाइन्। यसपछि उनी खेतीपातीमा मोडिइन्। जसमा उनलाई खासै फाइदा भएन। 'दुवै पेशा फापेन। त्यसलाई त्यागेर व्यापारमा लागे,' आफू व्यापारमा लाग्नुको कारण स्पष्ट पार्दृ उनले भनिन्।
व्यापारमा लागेपछि भने उनको दैनिकीमा केही परिवर्तन देखिनथाल्यो। व्यापार गरेर उनले दुवै छोरीको विवाह गर्न सफल भइन्। हाल उनी शंखमुलमा १८ वर्षीय नातिनीसँग बस्छिन्। जो जेठी छोरीतर्फकी छोरी हुन्।
३४ वर्षको उमेरमा श्रीमानसँग छुट्टीएकी डम्मरको पछिसम्म भेट भएन। उनको श्रीमानको १२ वर्षअघि निधन पनि भइसकेको छ। 'म काठमाडौंमा बसे। उनी गाउँमै थिए। भेट भएन' उनले भनिन्।
आफूले झन्डै २ दशकदेखि गर्दै आएको कामकै कारण खान लगाउन र ५ हजार कोठा भाडा तिर्न सहज भएको उनको भनाई छ। 'बेलैमा यो काममा हात हालेर राम्रै गरेछु। अहिलेसम्म हातमुख जोड्न कसैलाई गुहार्नु परेको छैन' उनले भनिन्, 'अहिलेसम्म आफ्नै पाखुरा चलाएर खाइरहेकी छु।'
उनको एउटै भनाई छ, काम गर्न कहिल्यै लाज मान्नु हुदैन। उनलाई पहिलो पटक तरकारी बेच्दा लाज नलागेको भने होइन।
'सुरुमा बाटोमा तरकारी बेच्ने सोच्दा लाज लागेको थियो', उनले विगत स्मरण गर्दै भनिन्, 'तर बाध्यता र परिस्थितिको अगाडि लाजले नरोक्ने रहेछ।'
वास्तवमा डम्मर कुमारीले पहिलो पटक ३० रुपैयाँको साग किनेर बेचेकी थिइन। 'मैले एक रुपैयाँ मुठा साग किनेर त्यसलाई ५ रुपैयाँमा बेचेकी थिए। जसबापत सय रुपैयाँ कमाई भयो,' उनले हाँस्दै भनिन्, 'साग बेचेर पाएको सय रुपैयाँले ५ सय बनाए।'
हाल उनी सागसब्जी बेचेर दैनिक ३ हजार रुपैयाँ कमाउँछिन्। 'काममा खट्यो भने के मुश्किल छ र? मिहिनेतको फल पनि मिठै हुन्छ,' अहिलेको युवा पुस्तालाई उनी सन्देश दिन चाहन्छिन्।