माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, मलाई केही भन्नु छैन: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (ओली) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई प्रचण्डका एक कार्यकर्ताको उपमा दिएका छन्। 

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका हुन्।

‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही भन्नु छैन,’ उनले भने,‘ उहाँ सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँग गरेका सहमतिले आफ्नो ब्रिफकेस भरिएको पनि बताए।

उनले भने, ‘एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ। प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ। तर, उहाँले सहमति कार्यान्वयन गर्नुभएन।’

उनले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे। 

उनले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो। तर एकताका लागि मैले ४० प्रतिशत दिएँ। तर, उहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो।’

ओलीले प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताए। 

‘मैले मित्रताको अंगालो हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन?’

प्रकाशित मिति: : 2020-12-30 18:15:00

प्रतिकृया दिनुहोस्