असहायलाई बाँड्नुपर्ने आर्थिक सहायता करोडपति सांसदलाई, निर्देशिकाविपरीत एनजीओलाई समेत पैसा !

लोकान्तर

जनकपुरधाम
अजय अनुरागी

२नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा राज्यमन्त्रीको शपथ ग्रहण गरेर गृहजिल्ला रौतहटको मत्सरी जाने बेला १ सयभन्दा बढी जीप तथा कारसहितको र्‍याली (काफिला) निस्किएको थियो । त्यो क्षेत्रकी प्रभावशाली नेतृको रूपमा उनले शक्ति प्रदर्शन गरेकी थिइन् । भारतको साउथ फिल्ममा नेताहरूले आफ्नो ताकत तथा शक्ति प्रदर्शनका लागि दलबलसहित काफिला निकालेजस्तो हुबहु झाको पनि काफिला देखिएको थियो । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको साविक अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती समेत भएकाले राजपाको समानुपातिक कोटाबाट उनी प्रदेश सांसद बनेकी हुन् । उनका श्रीमान अनिलकुमार झा भने विघटित प्रतिनिधि सभाका सदस्य हुन् । उनी प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए ।

आर्थिकरूपमा उनीहरूको परिवार सुखी र सम्पन्न छ । काठमाडौंको लाजिम्पाटस्थित रानीवनमा उनको आलिशान घर छ । त्यसबाहेक पैतृक गाउँ रौतहटको दुर्गाभवानी गाउँपालिका वडा नम्बर ३ मत्सरीमा समेत शानदार महल छ भने सदरमुकाम गौरमा सुविधा सम्पन्न घर छ । गाउँमा पनि पर्याप्त जग्गाका मालिक हुनुका साथै गजेन्द्रनारायण सिंह आश्रमका नाममा रहेको रौतहटको गरुडा नगरपालिका वडा नम्बर १ जयनगर बिपहीमा रहेको बिघौं जग्गा समेत डिम्पल अनिल फाउन्डेसन प्रालिका नाममा स्वामित्व हस्तान्तरण भएको छ । रौतहट जिल्लाकै एक जसपा नेताका अनुसार राज्यमन्त्री झा दम्पतीका नाममा करोडौंको चलअचल सम्पति छन् ।  

प्रकाशित मिति: : 2020-12-30 15:10:00

प्रतिकृया दिनुहोस्