क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन्।
दुवईमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको छ।
पोेर्चुगिज फरवार्ड रोनाल्डोले अर्जेन्टिनी लिओनल मेसी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।
रोनाल्डोले यो अवार्डका लागि समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए। मेसीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए।
आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो। ३५ वर्षीय रोनाल्डोले यो अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन्। त्यसलाई नै आधार मान्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो।
रोनाल्डाले पोर्चुगलबाट सन् २०१६ मा युरोकप, २०१८ मा युइएफए नेसन्स लिग जितेका थिए। ५ पटकको ’बालोन डि ओर विजेता रोनाल्डोले इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र इटालीको युभेन्ट्सबाट थुप्रै उपाधि जितेका छन्।
यस्तै प्रशिक्षण करियरमा उत्कृष्ट सफलता हात पारेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ‘कोच अफ दि सेन्चुरी’ घोषित भएका छन्। उनले स्पेन, जर्मनी र इंग्ल्यान्डमा आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए।
जर्मन क्लब वायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई वर्ष पुरुष खेलाडी र प्रशिक्षक हान्सी फ्लिकलाई वर्ष प्रशिक्षक घोषणा गरिएको छ।
स्पेनिस क्लब रियल म्याड्रिडलाई ‘क्लब अफ दि सेन्चुरी’ तथा म्युनिखलाई टिम अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ। जर्ज मेन्डिसलाई एजेन्ट अफ दि इयर प्रदान गरिएको छ।
स्पेनका पूर्व कप्तान तथा गोलरक्षक इकर कासियास र जेरार्ड पिकेले ‘प्लेयर करियर अवार्ड’ जिते।