माइतीघरमा उखु किसान भोकभोकै, पार्टी सम्पत्ति हत्याउने ध्याउन्‍नमा नेकपा

थाहा खबर

काठमाडौँ

रमेश पराजुली

उखु बेचेपछि पाउनुपर्ने भुक्तानी माग गर्दै देशका केही जिल्लाबाट काठमाडौं आएका किसान माइतीघरमा धर्नामा बसेको आज १५ दिन भएको छ। 
 तर उनीहरुको मागप्रति न त सरकार न कुनै पनि राजनीतिक दलले दह्रो साथ दिन सकेका छन्। 

एकाध माैसमी निर्णयबाहेक किसानको माग सम्बोधन हुने खालका खासै केही काम सरकारले यो १५ दिनमा गरेन। बीचमा केही उद्योगीले किसानको खातामा रकम त पठाए तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ। त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरूले बताएका छन्। 

तर यता फुट्न ठिक्क परेको सत्तारुढ नेकपा भने पार्टीको सम्पत्तिको वैधानिकतातिर लडाइँ गरिरहेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच साढे दुई वर्षअघि भएको एकतापछि एक भएको पार्टीको सम्पत्ति कसको हुने भन्ने झगडामा व्यस्त छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुर्सीकै लागि केन्द्रित विवादले पार्टी त विभाजनतर्फ धकेलियो नै, माइतीघरमा भोकभोकै बसेका किसान र उनीहरुको माग सम्बोधन गर्न दुवै पक्षका नेताहरु चाहेनन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवै पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गरिरहँदा माइतीघरमा उखु बेचेको पैसा नपाएर घर फर्किने चेतावनी पनि दिएका उनीहरुको केही सीप लागेन। 

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा छन्। तर नेकपा नेताहरु भने पार्टीको सम्पत्ति र निर्वाचन आयोगमा कुन पक्षले आधिकारिक र वैधानिकता पाउने भन्ने दाैडधुपमा लागिपरेका छन्।  नेकपाभित्रको सम्पत्तिमा दुवै पक्षले सार्वजनिक रुपमै आफ्नो दाबी गरिरहँदा माइतीघरको उखु किसानको आन्दोलन छायामा परेको छ। 

 

 

प्रकाशित मिति: : 2020-12-27 15:19:00

प्रतिकृया दिनुहोस्