युवराज घिमिरे
दुईवटा संविधानसभाको जीवनकालमा शक्ति प्रक्रिया, राजनीतिक प्रक्रिया र संविधान निर्माणका प्रक्रियामा एउटा महत्वपूर्ण समानता थियो प्रक्रियाबिहीनता। यी तीनवटै ‘प्रक्रिया’का ठेकेदारहरुमा दुई समानता थिएः एउटा जनतालाई ‘सार्वभौम’ भनिरहने तर महत्वपूर्ण राजनीतिक एजेन्डा निर्क्यौल गर्न उनीहरुलाई कुनै पनि रुपमा संलग्न नगराउने।
उदाहरण स्वरुप धर्म निरपेक्षता या हिन्दु राष्ट्रको निरन्तरता, एकात्मक शासन व्यवस्थाको निरन्तरता या संघीयता तथा राजतन्त्रको निरन्तरता या गणतन्त्र जस्ता महत्वपूर्ण विषयमा जसरी ‘ठेकेदार’हरुले निर्णय गरे, त्यो रणनीतिको प्रभाव हो।
दोस्रो, नेपाली जनतालाई बाहिर राखे पनि ‘विदेशी प्रभु’, संयुक्त राष्ट्रसंघका केही निश्चित निकाय र केही आईएनजीओ र अन्तर्राष्ट्रिय दाता संस्थाहरुको आदेश पालन गर्ने, गुलामी गर्ने र उनीहरुबाट अग्रगमन-प्रगतिशीलताको सर्टिफिकेट लिने, नेपालभित्रै प्रक्रिया र जनताको संलग्नता खोज्नेलाई प्रतिगामीको बिल्ला भिराइ हतोत्साहित र खलनायकीकरण गर्ने उनीहरुलाई।
१२–बुँदेमा संलग्न राजनीतिक दल, उनीहरुका बाह्य अभिभावक तथा विभिन्न किसिमले लाभान्वित नागरिक समाज र सञ्चारमाध्यमले प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता विपरित यो काम गरिरह्यो।