नेकपा जेट दुर्घटनापछि दुई पाइलटको दुई दिशा : एउटा आन्दोलन, अर्को चुनावतिर !

लोकान्तर

काठमाडाैं

२वर्ष ७ महिना २ दिनको 'बालक' नेकपा राजनीतिक रूपमा दुई चिरा भएको छ । २०७५ सालको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा जसरी नेतृत्व र कार्यकर्ता पंक्तिमा उत्साह छाएको थियो, विभाजन हुँदा नेता कार्यकर्ता उत्तिकै निराश बनेका छन् ।

केही दिनयता केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक चलाइरहेका छन् । दुवैतिरका नेताहरूले एकले अर्कोलाई हिलो छ्याप्न र पोल खोलाखोल गर्न कुनै कसर बाँकी राखेका छैनन् । 

गत पुस ५ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संसद विघटनको प्रस्ताव गरे । केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रस्ताव सदर गरिदिइन् । विभाजनको संघारमै रहेको नेकपा संसद् विघटनपछि एक रहन सकेन । अहिले नेकपा दुई चिरा बनेको छ ।

पार्टी एकताका काम पनि पूरा नभइकन दुई चिरा बनेको नेकपाको एउटा चिराको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् भने अर्को चिराको नेतृत्व ओलीले गरेका छन् । 

९ सचिवालय सदस्य रहेको नेकपाको प्रचण्ड-नेपाल पक्षमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गरेर ४ जना सचिवालय सदस्य छन् भने ओलीतर्फ पनि रामबहादुर थापा 'बादल'सहित चारै जना नेता छन् ।

उपाध्यक्ष वामदेव गौतम कतै खुलेका छैनन् । बिहीवार(आज) बिहानसम्म कतै नखुलेका बादल भने आजै बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा पुगेर प्रचण्ड-नेपाल समूहलाई प्रतिगामी करार गरिसके । बालुवाटारमा बसेको ओली समूहको नेकपाको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलवार बसेको बैठकले प्रवक्ता श्रेष्ठलाई हटाएको थियो ।

प्रकाशित मिति: : 2020-12-24 21:39:00

प्रतिकृया दिनुहोस्