विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उनलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन।
विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो।
जसोतसो नेपाल फर्किएपछि उनलाई त्यत्तिकै बस्न मन लागेन। आम्दानीका लागि केही त गर्नै प¥यो भन्ने लागेपछि अन्ततः उनले यात्रुबाहक अटो किन्नुभयो र नगर क्षेत्रमा चलाउन थालिन्। अहिले त्यसैको आम्दानीले घरखर्च चलाउन सकेको उनको भनाइ छ।
पहिलोपटक वैदेशिक रोजगारीअन्तर्गत ओमानमा दुई वर्ष बसेपछि उहाँ नेपाल फर्किनु भएको थियो। नेपाल फर्केपछि उनले नगरमा इन्टरनेट सेवा प्रदायक संस्थामा काम गरिन्। तैपनि उनलाई विदेश मोहले भने छाडेको थिएन। 'ओमानमा हुँदा प्रवेशाज्ञाको म्याद नसकिँदै बिरामी भएँ, त्यसपछि जसोतसो म्याद गुजारेर नेपाल फर्किएँ’,उनले भनिन्।
नेपाल फर्किएपछि घरटोलमै पाएको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि उनी फेरि वैदेशिक रोजगारीका लागि कसीइन् र कुवेत पुगिन्।
कुवेतमा पुग नपुग दुई वर्ष बस्दा उनी घर फर्किने तयारी गर्दै थिइन्। त्यहीबीच कोभिड–१९ को महामारी फैलियो। बन्दाबन्दी घोषणासँगै अन्तरराष्ट्रिय उडान बन्द भए र थप सात महिना कुवेतमै अड्किनु प¥यो। ‘सात महिनासम्म तलब नपाउँदा एकदमै समस्या भएको थियो, त्यसपछि घरबाट झण्डै रु एक लाख झिकाएर नेपाल फर्किएँ’, महर्जनले सुनाए।
महर्जनले अटो किनेर चलाउन थालेको धेरै दिन भएको छैन। केही दिनअघि मात्रै उनले अटो किनेकी थिइन्। अटो चलाउन थालेपछि अहिले उनको दैनिकी फेरिएको छ। बिहान उठ्नेबित्तिकै उनको अटो यात्रा शुरु हुन्छ। धेरैजसो थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रमा चल्ने अटो यात्रुको मागअनुसार दामन, पालुङ, टिस्टुङ, चित्लाङ र इन्द्रसरोवरको मार्खु क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ।
‘अटो किनेर ठीकै गरेछु भन्ने लागेको छ, खाली बस्नु परेको छैन,’ उनी भन्छिन्, ‘अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर रु एक हजार जोगिने गरेको छ ।’’ थाहा नगरपालिकामा अहिले करीब डेढ सय अटो सञ्चालनमा छन्। तीमध्येमा हाल महिला चालक महर्जन मात्र छन्। रासस