सरकारको ध्यान निर्वाचनमा, नागरिक खोप पर्खंदै

थाहा खबर

काठमाडाैं

काठमाडौं : मुलुक यतिखेर कोरोना (कोभिड-१९) महामारीको चपेटामा छ। संक्रमितको संख्या अढाई लाख नाघिसकेको छ। तर, नियन्त्रणमा सरकारी कदम र राजनीतिक गतिविधि हेर्दा अहिले मुलुकमा कोरोना संक्रमण शून्यजस्तै आभास भइरहेको छ।

मानिसहरूको चहलपहल बढेसँगै सार्वजनिक यातायात पनि खुलिसकेको छ। अधिकांश क्षेत्र सरकारले खुला गरिसकेको छ। फिल्म हल, विद्यालय तथा विश्वविद्यालयबाहेक अन्य क्षेत्र खुलिसकेका छन्।  

विश्वका अन्य मुलुक खोप आयातदेखि निर्माण गर्ने कार्यमा तीव्र रूपमा लागेका छन्। नेपाल सरकार भने कूटनीतिक पहलको र कोभ्याक्सबाट २० प्रतिशत खोप आउने आशामा बसेको छ। सरकार यतिखेर कोभिड विरुद्धको खोप आयात गर्न लाग्नुपर्नेमा राजनीतिक झमेलामा फसेको छ।

प्रधानमन्त्री केपी शर्माले ५ गते संसद विघटन गरेसँगै नेपाली राजनीति एकाएक तातेको छ। महामारीकै बीच चुनावमा जाँदा खोप आयातमा केही असर त पर्ने होइन भन्ने आशंका बढ्न थालेको छ। कोभिड महामारीबाट आजित नागरिकले खोप खोजेका छन्‌, तर सरकार निर्वाचन खोज्दैछ।

कोरोना नियन्त्रण तथा खोप आयातमा पछिल्लो घटनाक्रमले असर गर्ने स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन्।

विभागीय मन्त्री पार्टीको काममा व्यस्त

खोप आयात तथा कोरोना नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहम्‌ भूमिका हुन्छ। विभागीय मन्त्री भानुभक्त ढकाल मन्त्रालयको काम भन्दा पार्टी र सरकारका अन्य गतिविधिमा बढी सक्रिय हुने गरेका छन्‌।

मुलुकलाई संकट परेको समयमा सम्बन्धित मन्त्रालयका मन्त्रीको अहम भूमिका हुनुपर्ने जनस्वास्थ्य विज्ञ डा.किरण राज पाण्डे बताउँछन्। उनी भन्छन्‌, 'मुलुकको राजनीतिक अवस्था फरक ढंगले चल्न थालेकोले मन्त्री अहिले पार्टीको काममा व्यस्त रहन जाँदा महामारी नियन्त्रण र खोप उपलब्धतामा निश्चय नै प्रभाव पर्छ।'

खोप आयात गर्न यसअघि सरकारले विभिन्न पहल गरेको थियो। अहिले अन्तिम चरणमा यस्तो राजनीतिक गतिविधि हुँदा महामारीविरुद्ध लड्न ठूलो असर परेको पाण्डेले बताए। कोभिड खोप आयात गर्न कूटनीतिक पहल र कोभ्याक्स खोपको लागि पहल भइसकेकोले यस्तो अवस्थामा मन्त्रीले समय नदिएमा कर्मचारीले भूमिका बढाउनु आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-12-23 09:00:00

प्रतिकृया दिनुहोस्