त्रिरत्न छोर्तेनबाट न्यानो कपडा र खाद्यान्न सहयोग

सांकेतिक तस्बिर

मुस्ताङको उपल्लो भेगस्थित न्याम्डो त्रिरत्न (छोर्तेन) पुनःनिर्माण समितिले पोखरामा विभिन्न वृद्धाश्रम तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ।
    
लोमन्थाङ गाउँपालिका–४ न्याम्डो गाउँस्थित उक्त समितिले पोखराको लेखनाथमा रहेका अपाङ्गमैत्री समाजमा आवद्ध ३१ दृष्टि क्षमता कम भएका व्यक्तिलाई न्यानो कपडा ब्लाङ्केटसहित खाद्यान्न वितरण गरेको हो। 

त्यस्तै समितिले पोखरा महानगरपालिका–३२ मा रहेको राधाकृष्ण वृद्धाश्रम,  १७ को पोखरा वृद्धाश्रम र मानवसेवा आश्रम,  १५ को राष्ट्रिय परोपकार महासङ्घ र  १८ बाच्छेबुडुवाको बात्सायन वृद्धाश्रममा ६५ बोरा चामल वितरण गरेको छ। 
    
उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै त्रिरत्नको संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका असाहय वृद्धवृद्धालाईसमेत सानो भए पनि सहयोग गर्ने उद्देश्यअनुरुप ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले जानकारी दिए। 

न्यानो कपडा र खाद्यान्न पाएकोमा आफूहरू निकै खुशी भएको अपाङ्गमैत्री समाजका सदस्य सुशील गोदारले जानकारी दिए।

 आगामी दिनमा पनि पोखरा र आसपासका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको लागि सहयोग जुटाएर वितरण गर्ने समितिका सदस्य वाङ्दी गुरुङले बताए। रासस 

प्रकाशित मिति: : 2020-12-22 12:17:00

प्रतिकृया दिनुहोस्