मेरो सानो दुई महिनाको छोरा रोयो, मैले उसलाई काखमा लिएपछि रुन छोड्यो । नजिकै बसेकी उसकी सात वर्षकी दिदीले भनी, 'बाबा, बाबुले त रुन पाउस (pause) गर्याे । मलाई उसले प्रयोग गरेको शब्दले एकछिन सोच्न बाध्य पार्याे । मनमनै भनेँ, 'डिजिटल युगका केटाकेटीहरूको भाषा पनि डिजिटल नै हुन थाल्यो । कहिलेकाहीँ भाइ रोयो भने ऊ मोबाइल एप प्रयोग गरेर किन रोयो भनेर पत्ता लगाउँछे- भोक लागेर रोएको हो कि, निन्द्रा लागेर हो कि, पिसाब गरेकाले चिसो भएर हो वा अन्य कुनै कारणले हो । त्यसैअनुसारको रुवाइको आवाजको अल्गोरिद्मसहितको एप हुनुपर्छ त्यो । उसले भाइ रोएको आवाज मोबाइलको एपमा भएको आवाजसित दाँजेर जवाफ भेट्टाएर सुनाउँछे । यो आर्टिफ़िसियल इन्टेलिजेन्सको प्रयोगको एउटा सामान्य उदाहरण हो ।
हाम्रा दर्शन, साहित्य, राजनीतिमा प्रकृति विज्ञान र प्रविधिकाे ज्ञानले कसरी प्रभाव पार्दै आएको छ र आज हाम्रो सोच्ने, धारणा विकास गर्ने सवालमा कसरी यसको प्रयोग हुँदै जान सक्छ भन्नेबारे यो लेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।
विज्ञान प्रविधिको ऐतिहासिक विकासको शृङ्खला र हाम्रा धार्मिक, सांस्कृतिक, राजनीतिक विचारको विकास शृङ्खलाबीचका सम्बन्धहरूलाई केलाउने हो भने कतिपय अवस्थामा ती परस्पर विरोधी र कतिपय अवस्थामा सहजतापूर्ण रहेको पाइन्छ । वैज्ञानिक ग्यालिलियोले पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्दा चर्चको मान्यताविपरीत भयाे भनेर उनलाई जेल हालियो ।
धार्मिक मान्छेहरूबाट ग्यालिलियो मात्र होइन, थुप्रै वैज्ञानिक मारिए, सताइए । स्टालिनको पालामा रुसमा शासकहरूबाट वैज्ञानिकहरूमाथि निकै ठूलाे दबाब दिइन्थ्यो भनिन्छ । चार्ल्स डार्बिनले विकासवादको सिद्धान्त दिँदा प्राणीहरूको सृष्टिकर्ता भगवान्को अस्तित्वमा प्रश्न उठेकोमा उनको व्यापक आलोचना भयो । मानव सभ्यताको विकासक्रमको ऐतिहासिक भौतिकवादवादी विचार भनेर मार्क्स एङ्गेल्सले राजनीतिक प्रणालीमा भगवान्को अस्तित्वको कुरा जोड्नु बेकार भने । त्यसो भन्नुमा उनीहरूलाई डार्बिनको रचनाले सहयोग गरेको देखिन्छ ।