दिप्सन लुइटेल
सरिता गिरी मार्सल आर्टकाे राम्रो खेलाडी थिइन् । कक्षा ६ देखि नै उनी मार्सलआर्ट सिकिरहेकी थिइन् । कक्षा १० मा पुग्दा नै उनले 'ब्ल्याक बेल्ड' पाइसकेकी थिइन् । यसबीचमा उनले केही राष्ट्रिय खेलमा सहभागिता पनि जनाइसकेकी थिइन् । उनले मार्सल आर्टमा नै आफ्नो करिअर देखेकी थिइन् ।
तर, एसएलसी सकिएसँगै सरिताको बाटो अन्तै मोडियो । सोच्दै नसोचेको कलाकारिता क्षेत्रमा उनको प्रवेश भयो । सरिताको छिमेकमा नाटक क्षेत्रमा दिग्गज व्यक्तित्व वीरेन्द्र हमाल बस्थे । वीरेन्द्रले सरितालाई सानो उमेरदेखि नै अभिनय क्षेत्रमा ल्याउन जोड गरिरहेका थिए । तर, सरिताले यस कुरालाई बेवास्ता नै गरिरहेकी थिइन् ।
एसएलसी सकिएपछि तीन महिना फुर्सदको समय मिल्ने भयो । सरितालाई झट्ट वीरेन्द्र हमालको याद आयो । अनि उनले साेचिन्, 'यो तीन महिना म नाटक सिक्छु ।'
नाटक सिक्ने जोश बोकेर सरिता वीरेन्द्र हमालको नाटकघर आरोहण थिएटरमा पुगिन् । सरिता आएको देखेर वीरेन्द्रले उत्साहित हुँदै भने, 'नानी तँ आइछेस्, खुसी लाग्यो । पोखरामा नाटक प्रतियोगिता हुँदै छ । त्यहाँ हामीले एउटा नाटक गर्न लागेका छौँ । मलाई थाहा छ, तैँले गर्न सक्छेस् । गर् है !'
सरिता केही समय अकमकिइन्, 'अंकल मलाई त केही आउँदैन । मलाई केही थाहा छैन । म त गर्न सक्दिनँ ... ।'