उखु किसानको आन्दोलनमा उद्योग मन्त्रीदेखि कांग्रेस वरिष्ठ नेता पौडेलसम्म

नेपाल खबर

काठमाडौं

उखु किसानहरुले माइतीघर मण्डलामा गरिरहेको आन्दोलनमा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट उपस्थित भएका छन्।

शुक्रबार माइतीघर मण्डलामा उपस्थित भएका मन्त्री भट्टले उखु किसानहरुले अब आफ्नो परिश्रमकको भुक्तानी लिन आन्दोलन गरिरहन नपर्ने बताए। उनले भुक्तानी नदिने मिल सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरिएको र उनीहरुले भुक्तानीको प्रक्रिया सुरु गरिसकेको भन्दै आन्दोलन स्थगित गरेर घर फर्कन आग्रह गरेका थिए। 

मन्त्री भट्टसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदयेश त्रिपाठी पनि सहभागी थिए।

किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न विपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी भएका थिए। 

आन्दोलनकारीलाई सम्बोधन गर्दै नेता पौडेलले तत्काल किसानको रकम भुक्तानीको व्यवस्था मिलाउन र मिल सञ्चालकहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरे।

गतवर्ष सरकारसँग भएको सहमति कार्यान्वयन र चिनी मिलबाट उखुको बक्यौता भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसाहरु मंसिर २८ गतेदेखि राजधानी आएर आन्दोलन गरिरहेका छन्। उनीहरुले रौतहट, सर्लाही र नवलपरासीका विभिन्न चिनी मिलबाट किसानले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए।

प्रकाशित मिति: : 2020-12-18 17:40:00

प्रतिकृया दिनुहोस्