टीकापुर घटना: सांसद रेशम चौधरीलाई जन्मकैदकै फैसला

उच्च अदालत दीपायलले ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो।

टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएकाे उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिइन्।

फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (४) बमोजिम जन्म कैद हुने ठहर छ।’

साथै निजलाई सोही महलको १५ नम्बर बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ। अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनर्वेदक प्रतिवादीको पुनर्वेदन जिकिर पुग्न सक्दैन।

अदालतको फैसलापछि थारुलाई पुनः पक्राउ गरि कारागार चलान गरिने प्रहरीले जनाएको छ।

टीकापुर घटनामा चौधरीसहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दायर गरिएको थियो।

प्रतिवादी ७ जनाको हकमा भएको फैसलाबारे निमिक्त रजिष्टार रेग्मीले भनिन्, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बर को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नम्बर बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर छ।

रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। सांसदको सपथ पनि लिएका चौधरी हाल कारागारमै छन्।

प्रकाशित मिति: : 2020-12-18 08:07:00

प्रतिकृया दिनुहोस्