अर्थतन्त्र : सक्कलबमोजिमको नक्कल

शिलापत्र

काठमाडौँ

प्रज्ज्वल चापागाईं 

 

सक्कलबमाेजिमको नक्कल ठीक छ । अरुको काम, शैली,  हाउभाउ, चालढाल, अकाल र सकाल अनुसरण गर्नेलाई नक्कले वा नक्कली भनिन्छ । हामी सक्कली हुने नाममा सधैँ नक्कली वा नक्कले बन्दै छाैँ । यता नक्कलीलाई भगाएर झिल्केले लान्छ, उता नक्कलेलाई गाल पर्छ । कहिलेकाहीँ त प्रश्नको पहाड थुप्रिन्छ । हाेइन, हामी नक्कली हाैँ कि सक्कली ? जवाफ आए मरिजाम ।

एकताका सबै नेपाली कांग्रेस, सबै कांग्रेस नेपाली भए ।  त्यसअघि नेपालमा कि पञ्च थिए, कि नेपाली । नेपालको हावापानी र माटोसुहाँउदो गरी कहिले नेकपा, कहिले एमाले त कहिले माओवादी, कहिले मधेसी जनअधिकार फोरम भएका भयै छाैँ । हाेइन, हामी साँच्चिक्कै सक्कली कि नक्कली !

झिटीगुन्टा आयो बगालका बगाल, अबगालबाट बच्न त्यसकै पछि लाग्याैँ । त्यसपछि गार्मेन्ट आयो । नेपालीले गार्मेन्ट भन्याैँ । त्यसपछि सबै नेपालीले ठसठसी कन्याैँ । केही वर्ष डलर र स्टर्लिङ गन्याैँ । काम औ व्यापार नीति सक्कली या नक्कलीको फेरोमा पर्‍याैँ । को भन्दा को कम ? सबै हुरुरु त्यतै लाग्याैँ । कथा उही । ब्यथा उही । गार्मेन्ट थालेको समय पनि उही । नजिकैको बङ्गलादेशको गार्मेन्टले संसार ढाकिसक्यो । बङ्गला देश डलर र पाउण्ड गनेको गन्यै । नेपाली आफैँलाई सराप्छन् मनमनै । नेपालले गार्मेन्ट पनि उत्पादन गर्थ्यो र ! कसले उत्तर दिने । कुरा मात्र ठूला गर्ने हामी सक्कली कि नक्कली । कसले ठम्याउने, कसले सम्याउने ?  
 
पश्मिनाले दिल्लीको मिना बजार होइन, सीमा तरेर डलर र पाउण्ड पाउने भएपछि बेतोडले कुद्याैँ, त्यसकै पछि । फलैँचामा गलैँचा राख्न नपाएर के भो र ! गुन्द्री त छँदै छ नि भन्ठान्याैँ ।  धोती न टोपी भयाैँ । सातु सामल बाँधेर अलिअलि धन र उद्यमशीलता भएका सबै गलैँचाका पछि बेपत्तैसँग दौडियाैँ । आफ्नै घरको फलैँचामा गलैँचा राख्नै नपाई धोती खुस्क्यो, टोपी पनि झर्‍याे । कसलाई के मतलब ? आखिर हामी सक्कलबमाेजिमको नक्कल ठीक हो भनेर ल्याप्चे र हस्ताक्षर गर्ने त पर्‍याैँ नि । त्यसका छेउमा मिति लेखेको कसरी बिर्सनु !

प्रकाशित मिति: : 2020-12-16 11:20:00

प्रतिकृया दिनुहोस्