उखु किसानको पैसा नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्न गृहकाे निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

 गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ।  

मंगलबार बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो। 

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो। 

बैठकमा नेपाल प्रहरीका एक एआइजी विश्वराज पाेखरेल पनि सहभागी थिए। 

‘बैठकले किसानको रकम नदिने व्यापारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने निर्णय गरेकाे छ,’ गृह स्रोतले भन्यो। 

चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन्। चिनी मिलबाट किसानहरुले करिब ८० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन जनाएको छ।

गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन्। उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्।


 

प्रकाशित मिति: : 2020-12-15 14:50:00

प्रतिकृया दिनुहोस्