पञ्चायतदेखि प्रचण्डसम्मका प्रिय पात्रको जेलयात्रा

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- आइतबार बिहान १० बजे विशेष अदालत परिसर अघिपछि भन्दा अलि भिडभाड थियो। प्रहरी सुरक्षासमेत बढाइएको थियो। कार्यालय समय सुरु भएको केही समय नबित्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात अदालतमा हाजिर हुन आइपुगे। 

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा नामसारी गर्न संलग्न भएको आरोपमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि भ्रष्टाचार मुद्दा अख्तियारले नै दायर गरेको थियो। सोही मुद्दामा मुछिएका उनी बिहान आफ्ना कानुन व्यवसायीसहित विशेष अदालत पुगेका थिए। धरौटीमा रिहा हुने आशामा पैसाको जोरजामसमेत गरेर अदालत पुगेका थिए उनी। 

उनीविरुद्धको मुद्दा सुनुवाइका लागि विशेष अदालतले पेसी निकाल्यो। मुद्दाको सुनुवाइका लागि विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीले आफूसहितको इजलासमा पेसी राखे। उनको इजलासमा अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले साथ दिइरहेका थिए। 

बिहान ११ बजे इजलास सुरु भयो। अदालतले उनलाई बयान लिन सुरु गर्‍यो। विशेषले उनीमाथि प्रश्न उठाइरह्यो। बस्न्यातले उत्तर दिइरहे। यो शृंखला करिब ४ घण्टा चल्यो। 

बयानपछि बस्न्यातका पक्षका कानुन व्यवसायीले पुर्पक्षका लागि धरौटीमा रिहा गर्नुपर्ने भनी बहस गरेका थिए। करिब साढे ६ बजे विशेषले उनको मुद्दामा आदेश सुनायो। विशेषले बस्न्यातलाई धरौटीमा छोडेर मुद्दाको सुनुवाइ गर्न नसकिने निष्कर्ष निकाल्यो। प्रमाण नष्ट गर्ने, भाग्न सक्ने वा मुद्दाको आगामी प्रक्रियामा असर पार्ने देखेमा इजलासले पुर्पक्षका लागि थुनामा पठाउने गर्छ। 

भ्रष्टाचार मुद्दामा कमै मात्र मुद्दामा विशेषले पुर्पक्षका लागि थुनामा पठाउने गर्दछ। बस्न्यातमा अदालतले धरौटीमा रिहा गर्ने आधार नदेखेपछि थुनामा पठाउने आदेश गरेको हो। बस्न्यात ललिता निवास प्रकरणमा पुर्पक्षका  लागि थुनामा जाने दोस्रो अभियुक्त हुन्। यति मात्र होइन, भिआइपीमध्ये पहिलो अभियुक्त पनि उनै भएका छन्। यसअघि एक पूर्वमन्त्री चन्द्रदेव जोशीलाई भने अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो। बस्न्यातसम्म आइपुग्दा विशेषले थुनामै राखेर मुद्दाको किनारा गर्नुपर्ने निष्कर्षमा पुगेको छ। 

प्रकाशित मिति: : 2020-12-14 10:45:00

प्रतिकृया दिनुहोस्