‘खोप आयो भनेर लापरबाही नगरौँ, कोरोनाको जोखिम अझै उच्च छ’

थाहा खबर

काठमाडाैं

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको एक वर्ष हुन लागेको छ। यो अवधिमा संक्रमितको संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या पनि २ लाख ३४ हजार २३१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ। नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या पनि १ हजार ६ सय ८९ पुगेको छ।

पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएर महामारीकै रुप लिएको छ। तर संक्रमण नरोकिएकै अवस्थामा काठमाडौं उपत्यका लगायत देशभर जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ। सरकारी तथ्याङ्कले पछिल्लो समय संक्रमण दर कम देखाएको छ। तर संक्रमणबाट मृत्यु हुने तथा गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्यामा कमी आएको छैन। के नेपालमा कोरोना महामारीको जोखिम कम भएकै हो? कि त सरकारले महामारी नियन्त्रण अभियानलाई फितलो बनाएको हो? अर्कातिर आमनागरिकले कोरोनालाई हेलचेक्रयाइँ गरेका हुन् त? यिनै सन्दर्भमा वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तसँग गरेको कुराकानी :

सरकारी विवरण अनुसार पछिल्लो समयमा कोरोना संक्रमण हुँदै गएको देखिन्छ, के नेपालमा कोरोना भाइरसको जोखिम वास्तवमै घटेको हो?

पछिल्ला केही दिनको परीक्षण विवरण हेर्दा कोरोना भाइरस संक्रमण दर घटेको जस्तो देखिन्छ। मानिसहरू पनि कोरोना भाइरसलाई बेवास्ता गर्दै पहिले जस्तै दैनिक काममा फर्किएको देखिन्छ। तर हाम्रोमा संक्रमण जोखिम अझै उच्च छ, संक्रमण समुदायस्तरमा पुगेको छ। पहिलेको तुलनामा संख्यात्मक रूपमा घटेको देखिन्छ। यस्तो देखिएको केही हप्ता भयो। संक्रमण पनि क्रमश: घट्दै गएको छैन, एक ठाउँमा आएर स्थिर भएर बसेको देखिन्छ। हाल दैनिक झन्डै १०/१२ सयको संख्यामा दैनिक संक्रमण आएको देखिन्छ।

हुन त यस्तो हुनुको प्रमुख पाटो भनेको परीक्षण दर पनि हो। केही समय अघिसम्म दैनिक २० हजारको हाराहारीमा भएको परीक्षण घटेर आठ हजारमा आइपुगेको छ। यसले दुईतिहाइ परीक्षण घटेको देखाउँछ। संक्रमण पनि यही हिसाबले घटेको छ।

प्रकाशित मिति: : 2020-12-14 10:36:00

प्रतिकृया दिनुहोस्