अझै सहज भएन चिनियाँ नाका, भारतीय मिडियाले भन्न थाले, ‘भारत नै अब नेपालको सहारा !’

रातोपाटी

काठमाडाैं

काठमाडौं । चीनको सीमा नाकामा हुँदै आएको अवरोध अहिले पनि उस्तै छ । कोरोनाभाइरस संक्रमणको जोखिम भएको भन्दै चीनले नेपाली ढुवानीकर्ताहरुलाई चिनियाँ क्षेत्रमा प्रवेश गर्न रोक लगाएपछि सुरु भएको अवरोध अहिले पनि हट्न नसकेको हो ।चीनबाट आयात गर्ने प्रमुख नाकाको रुपमा रहेको केरुङ र तातोपानी नाकाबाट अहिले मुस्किलले दिनको ७/८ वटा कन्टेनर नेपाल भित्रिने गरेका छन् ।

जबकी अहिले पनि २ हजारभन्दा बढी कन्टेनर नेपाल आउने प्रतीक्षामा चीनको विभिन्न स्थानहरुमा अड्किएर बसेका छन् । अहिले केरुङ नाकाबाट दैनिक ४ देखि ५ वटा र तातोपानी नाकाबाट दैनिक २ देखि ३ वटा कन्टेनरलाई मात्रै चिनियाँ ढुवानीकर्ताले नेपाली सीमामा ल्याइदिने गरेको सम्बन्धित भन्सारका अधिकारीहरु बताउँछन् ।

भाडा ५ गुणासम्म महँगो

अहिले दुवै नाकाबाट नेपाल भित्रिने कन्टेनरहरु धेरैजसो चिनियाँ व्यापारीकै हुने गरेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । कटुवाल भन्छन्, ‘चिनियाँ व्यापारीहरुलाई उता जाने सहज पहुँच छ । उनीहरु भन्सारमा गएर आफ्नो कन्टेनरलाई पहिले जाँचपास गराउन दवाव दिन्छन्, तर नेपाली व्यापारीहरु त्यहाँ जान पाउँदैनन् । त्यसैले धेरैजसो उनीहरुकै सामान आइरहेको हुन्छ । चिनियाँ एजेन्टलाई घुस दिएर अलिअलि नेपाली कन्टेनरले जाँसपास पाउने गरेका छन् ।’

त्यसो त, जाँचपास भएर केरुङबाट रसुवागढीसम्म ल्याउने भाडा निकै महँगो भनेको समेत उनको दाबी छ । ‘केरुङबाट रसुवागढी आउन २८ किलोमिटरको बाटो छ । एउटा कन्टेनर ल्याउन १० देखि १५ हजार लाग्थ्यो । अहिले ५० देखि ६० हजारसम्म तिर्नु परिरहेको छ,’ अध्यक्ष कटुवाल भन्छन्, ‘एकातिर घुस नखुवाई जाँचपास हुँदैन । अर्कोतिर महँगो भाडा तिर्नुपर्दा सामान ल्याएर कुनै नाफा हुन छाडिसक्यो । घरघडेरी धितोमा ऋण लिएर सामान ल्याएकाहरु ऋणको किस्ता तिर्नकै लागि महँगो तिरेरै भए पनि सामान ल्याइरहेका छन् ।’

प्रकाशित मिति: : 2020-12-14 10:30:00

प्रतिकृया दिनुहोस्