आहा मासु !

राजीव घिमिरे

काठमाडाै‌ं

आजकाल धेरैले मलाई सोध्ने प्रश्न हो, ‘मासु सुरु गर्नु भयो?’ नेपालीको लागि मासु–भात ‘सोसल प्रेस्टिज’ को कुरा हो।

तपाईले तालिम सञ्चालन गर्नु भएको छ भने तालिमको अन्त्यमा सोध्नुस्, ‘तालिम कस्तो भयो?’ उत्तर आउने छ, ‘खत्तम नै भयो नी। एक दिन पनि मासु–भात खुवाएन’। 

टुँडिखेलमा असहायलाई भात ख्वाइयोभन्दा ठूलो समाचार हुदैन। तर, मासु– भात ख्वाइयो भने ठूलै समाचार बन्ने गर्छ। 

केही समयअघि क्वारेन्टाइनमा बसेकाहरूले पनि सरकारसँग माग राखेका थिए, ‘दैनिक दुई छाक मासु–भात त सरकारले सित्तैमा ख्वाउनै पर्छ’। 

नेपालको चर्चित मह–जोडीले ‘दाल–भात तरकारी’ फिल्मको निर्माण गर्ने घोषणा गरेसँगै अर्कोले उहाँहरूको फिल्मभन्दा बढी चलोस् भनेर ‘मासु–भात’ बनाउने भएछ। मुङ्लिङको होटलमा गएर मासु बिना भात खाने कोसिस गर्नुभएको छ? छ भने त्यहाँको ‘रेस्पोन्स’ तपाईहरूलाई यादै होला।

बिहारका एक मन्त्रीले गरिबलाई मुसा खान सल्लाह दिएका थिए। गरिबी हटाउँछ भनेर, मलाई त ठिकै लागेको थियो, धान पनि जोगिने राम्रो ‘न्युट्रिशन’ हुनाले शक्ति पनि आउने। तर बबाल भयो, ‘गरिबलाई हेप्न खोजेको उनले उनलाई उल्टै आरोप लाग्यो।’ 

कसैले मलाई के पाल्ने भनेर सल्लाह माग्यो भने किरा भन्छु। संसारमा किराको जति प्रजाति कुनैको हुदैन। किराको थुप्रै स्वाद पनि पाइने, पाल्न सजिलो पनि हुने, मासु पनि धेरै हुने, जस्तो गोब्रे किरा हेर्नुस् त मासु बाहेक अरू केही नहुने। पोषणयुक्त, खसीको जस्तो त्यत्रो पैसा हालेर ल्यायो, छ्या हाड र बोसोमा पैसा फालिएछ भन्नै नपर्ने। 

किराको लाइफ साइकल पनि छोटो हुनाले हुर्काउन पनि चाँडो अर्थात चाँडो ‘प्रोडक्ट’ तयार हुने। 
उसो भए खान सकिएला भन्ने प्रश्न पनि आउनसक्छ? यो सबै स्वादको कुरा न हो। हाम्रो जिभ्रोमा भएका धेरै स्वादका ग्रन्थीहरू निष्क्रिय भएर बसेका छन्। उनीहरूलाई पनि काम दिनुपर्छ। 

सुरुमा मेरो जिब्रोले डेरीको चिज रुचाएको थिएन तर अहिले त गन्हाउने चिज भयो भने सबैभन्दा मनपर्छ।  जिभ्रोलाई विस्तारै ती स्वादका लागि तालिम दिँदै जानुपर्छ।

बाबुरामले खसी पाल्ने रे, गगनले पनि खसी पाल्ने, मेरा केही साथीहरूले ‘रिटायरमेन्ट’ पछि माछा पालेका छन्। नेपालमा बढी चल्ने भनेको खसी, कुखुरा, माछा र राँगा हो।

अहिले अलिअलि अस्ट्रिचतिर लागेका छन्। बंगुरपालन पनि राम्रो हुन्छ तर मासुमा पनि जात प्रथाले प्रभाव पार्‍यो। 

त्यसैले किरा पाल्नुस् जात प्रथा पनि लागू नहुने। किनभने खसी, कुखुरा, राँगा, बङ्गुरको जात निर्धारण भैसकेको छ तर किराको भएको छैन। स्वादिलो पनि, सजिलो पनि, पोसिलो पनि। जिभ्रोलाई तालिम दिऔं।
 

प्रकाशित मिति: : 2020-12-11 21:46:00

प्रतिकृया दिनुहोस्