चिडियाखाना: छैन सुरक्षा, थर्मल गनले धान्दै सुरक्षाकर्मी (भिडियाे/तस्वीर)

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना महामारीका कारण चैत्र ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना सर्वसाधारणको लागि खुल्ला गरिएको छ। 

लामो समय बन्द रहेको चिडियाखाना आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र डिजिटल टिकटसहित खुल्ला गरिएकाे हाे।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै चिडियाखाना परिसरमा सावधानी अपनाइएको छ। अवलोकनकर्ताले घरबाटै पनि टिकट बुकिङ गर्न सक्नेछन्।

अवलोकनकर्ताको संख्या ढड्डामा संकलन गर्ने गरिएकोमा अब कम्प्युटरमा टिपोट गर्न थालिएको छ। 

कति जनाले अवलोकन गरिरहेका छन् भन्ने थाहा दिन गेटमानै डिजिटल बोर्ड झुन्ड्याइएको छ। उक्त बोर्डमा ‘एक्टिभ भिजिटर’ संख्या देखिन्छ। 

चिडियाखाना प्रवेश गर्नुपूर्व अवलोकनकर्ताको ज्वरो नाप्ने, स्यानिटाइज गर्नेजस्ता स्वास्थ्य सुरक्षा अपनाइएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले बताए। 

उनका अनुसार चिडियाखाना खुलेसँगै अवलोकन गर्न पुग्नेको संख्या बढेको छ। पहिलो दिन बिहीबार १५ हजारभन्दा बढी अवलोकनकर्ताले चिडियाखानाको अवलोकन गरे।  

उनले जनावरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै अवलोकनकतालाई अनिवार्य मास्क ल्याउन आग्रह गरिएको बताए। 

दुई सिफ्टमा खेलिने

कोरोना महामारीलाई ध्यानमा राख्दै चिडियाखाना अवलोकनलाई दुई सिफ्टमा खेलिने भएकाे छ। 

बिहान १० बजेदेखि दिउँसा १ बजेसम्म एउटा सिफ्ट हुनेछ। १ देखि १ः३० बजेसम्म बन्द गरिने चिडियाखाना व्यवस्थापन प्रमुख डा.  पोखरेलले बताए। 

समयमा सबैतिर स्यानिटाइज गरेपछि मात्रै भिजिटरलाई प्रवेश गराइने चिडियाखाना प्रशासनले जनाएको छ। 

कोरोना संक्रमणलाई ध्यानमा राख्दै चिल्ड्रेन पार्क र पिकनिक स्पोर्ट भने बन्द गरिएको छ।

हाल चिडियाखानामा १ सय १२ प्रजातिका १ हजार ९७ वटा जीवजनावर रहेका छन्। चिडियाघरमा रहेका सबै जीवजनावरको चारो तथा दानापानीमा वार्षिक तीन करोड रूपैयाँ खर्च हुने गरेको छ।  

हाल चिडियाखाना अवलोकन गर्न विदेशीले ७ सय ५० रूपैयाँ शुल्क तिर्नुपर्छ। सार्क देशका पर्यटकलाई ५ सय रूपैयाँ, नेपालीलाई १ सय ५० रूपैयाँ शुल्क लिइन्छ। विद्यार्थी र ज्येष्ठ नागरिकले भने ९० रूपैयाँ तिरेर चिडियाखाना प्रवेश पाउनेछन्। 

प्रकाशित मिति: : 2020-12-11 18:08:00

प्रतिकृया दिनुहोस्