कोभिडको कठिन परिस्थितिमा वीरगञ्ज हेल्थ केयरको ठूलो योगदानः प्रजिअ तामाङ

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कोरोनाको कठिन परिस्थितिमा वीरगञ्ज हेल्थ केयरले साथ दिएर ठूलो योगदान गरेको बताएका छन्। 

कोरोना महामारीमा खटिएका सुरक्षाकर्मीहरुलाई वीरगञ्ज हेल्थ केयर अस्पतालद्धारा आयोजित सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले उक्त कुरा बताएका हुन्। 

प्रजिअ तामाङले अवस्थालाई मुल्यांकन गरेर राज्यसँग भएको स्रोत साधन परिचालन गरेर कोभिड–१९ नियन्त्रण तथा रोकथामको प्रयास गरिएको बताए। 

कोभिड महामारी नियन्त्रण तथा उपचारमा निजी अस्पतालहरुले गरेको योगदान पनि प्रशंसनीय रहेको उनको भनाई छ। 

अस्पतालले कोभिड–१९ को संक्रमणकालमा पर्सावासीका लागि मात्र नभइ छिमेकी जिल्ला बारा, रौतहट, सर्लाहीसम्मका संक्रमितहरुमा सेवा प्रवाह गरेको र सो कार्य प्रशंसनिय रहेको उनले भने।

‘साउनको १ गते १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो। आइसोलेसनमा एक जना मात्रै थिए। ७ जना एक जना कोरोना संक्रमितको निधन भयो,’ उनले भने ‘ त्यसपछि कोरोना संक्रमणका ग्राफ एकदमै उकालो लागेको थियो। संक्रमितलाई राख्ने ठाउँको अभाव थियो। सरकारले तोकेका सुविधामा समेत प्रश्न उठेको थियो तर वीरगञ्ज हेल्थ केयर अस्पतालले राज्यलाइ गरेको सहयोगका लागि आभार छौं।’ 

यता प्रहरी उपरीक्षक गंगा पन्त लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी १३ नं. गणका अधिकारी तथा जवान लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो। 

सम्मानित हुनेहरुमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक दिपक साह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कुशल बर्तौला, विपद व्यवस्थापन गुल्म वीरगञ्जका प्रहरी निरीक्षक सरोज प्रजापती, प्रहरी सहायक निरीक्षक अरविन्द कुमार सिंह, वडा प्रहरी कार्यालय विर्ता, ईलाका प्रहरी कार्यालय पोखरीया, पटेर्वासुगौली, ठोरी लगायत १० जना व्यक्ति र ६ वटा संस्थालाई सम्मान गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ। 

उनले सम्मानित हुनेहरु अझै जिम्मेवार भएर सेवा कार्यमा लाग्नुपर्नेमा जोड दिए। 

कोरोना उच्च विन्दुमा पुगेको समयमा अग्रपंक्तीमा रहेर सुरक्षा निकायले निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गरिएको अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए।
 
‘कोरोनाको संक्रमणकालमा सफलता पूर्वक हामीले अस्पताल सञ्चालन गर्‍यौं र संक्रमितको सेवामा कुनै कमी हुन दिएनौं ,‘उनले भने, बिरामी राख्ने ठाउँ नहुदाँ सो कठिन परिस्थितिमा राज्यप्रति आफ्नो कर्तव्य निर्वाह गर्‍यौं।’

पर्सामा संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रहरी कार्यालय पर्साले पेसेन्ट रेस्क्यु तथा कन्ट्याक्ट ट्रेसिङ सेन्टर नै स्थापना गरेर कोभिड संक्रमितको व्यवस्थापन र उपचारमा सहयोग पुर्‍याएको थियो। 

स्वाब संकलन, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स व्यवस्थापन, संक्रमितकोशव व्यवस्थापन लगायतका काममा समेत प्रहरीले अतुलनीय भूमिका निर्वाह गरेको थियो। 

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले कठिन परिस्थितिमा राज्यले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्दै ज्यान जोखिममा राखेर सुरक्षाकर्मीहरुले नागरिकको सुरक्षामा ठूलो योगदान पुर्‍याएको बताए।

प्रकाशित मिति: : 2020-12-11 11:54:00

प्रतिकृया दिनुहोस्