प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा वृद्धि

सांकेतिक तस्बिर

गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरवृद्धि गरिएको छ।

अस्पतालको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुभारम्भ गरे। यसअघि नगरसभाले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो। सो विषय चालु आवको नीति तथा कार्यक्रममासमेत समावेश थियो। 

नगरप्रमुख भरत शर्मा गरैले नगर अस्पतालको योजना कार्यान्वयनमा आएको जानकारी दिए। 'अब पूर्वाधार, जनशक्ति र सेवाको स्तर पनि क्रमशः थपिँदै जान्छ', उनले भने, 'अस्पतालमा २५ शय्या पु¥याउने लक्ष्य छ।' 

नगर अस्पतालमा स्तरवृद्धि गर्ने निर्णयसँगै थप चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेको गरिएको उनको भनाइ छ।
 
अहिले केन्द्रमा आठ शय्या रहेकामा निर्माणाधीन भवन बन्नासाथ शय्याको क्षमता १५ पुग्ने छ। अस्पताल भवन निर्माण अन्तिम चरणमा छ। अहिले पुरानै भवनबाट अस्पताल भइरहेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा रुपान्तरण भएसँगै उपचार सेवाको स्तर र पहुँच बढाउनुपर्ने चुनौती थपिएको अस्पतालका प्रमुख चिकित्सक अरुण गौतमले बताए। 

सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद अस्पतालको सेवा प्रभावकारी बनाउन आफूहरु लागिपरेको उनको भनाइ छ। 'छ महिना अघिसम्म मेडिकल अधिकृत म मात्र थिएँ, अहिले दुई जना सेवारत छौँ, प्राथमिक स्वास्थ्य केन्द्र तहमा चाहिने जनशक्तिले बल्ल पूर्णता पाएको छ, अब नगर अस्पताल भइसकेपछि सोहीअनुसार पूर्वाधार, उपकरण, जनशक्ति र सेवा थप्नुपर्छ' प्रमुख चिकित्सक गौतमले भने।

उनका अनुसार १५ शय्याको अस्पतालका लागि तीन जना चिकित्सक र २७ जना स्वास्थ्यकर्मी हुनुपर्ने सरकारी मापदण्ड छ। अहिले अस्पतालमा दुई मेडिकल अधिकृत, तीन अनमी, दुई अहेब, एक हेल्थ असिष्टेन्ट, एक ल्याब टेक्निसियन, एक एम्बुलेन्स चालक र तीन कार्यालय सहयोगी कार्यरत छन्। विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थपेर अस्पतालको सेवालाई थप स्तरीय बनाउने नगरपालिकाको योजना छ।

अस्पतालमा हाल आकस्मिक, भिडियो एक्सरे, बहिरङ्ग, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य बीमा, प्रसूतिलगायतका सेवा उपलब्ध छन्। नयाँ भवन प्रयोगमा आएपछि सेवा प्रवाह थप सहज हुने जनाइएको छ। रु पाँच करोड ४५ लाख ३५ हजारको लागतमा अस्पताल भवन बनिरहेको छ। 

आठ शय्या क्षमताको उक्त भवनमा तला थपेर १५ शय्या पु¥याइने प्रमुख गैरेले बताए। नगरपालिकाको योजनामा भने अस्पताललाई २५ शय्याको बनाउने उल्लेख छ। भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ। बुधबारदेखि नै नगरपालिकामा कोभिड–१९ अस्थायी अस्पतालसमेत सञ्चालनमा आएको छ।

पाँच शय्याको उक्त अस्पताल आँखा उपचार केन्द्रको भवनबाट सञ्चालित छ। सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल खोल्ने सरकारको योजनाअनुसार सो अस्पताल स्थापना गरिएको हो। रासस 

प्रकाशित मिति: : 2020-12-10 14:51:00

प्रतिकृया दिनुहोस्