मधु राई
केहीसमययता सञ्चारका विभिन्न माध्यमहरुमा दिनहुँ जसो महिलाविरुद्ध हुने जुनसुकै हिंसाविरुद्धका सामग्रीले प्रमुखता पाइरहेका छन्। सामाजिक सञ्जालमा पनि श्रव्यदृश्यसहितका यस्ता सामग्री पोष्ट गर्ने होड नै चलेको देखिन्छ।
यस्ता सामग्रीले एकातिर पाठक, श्रोता र दर्शकलाई सूसुचित गराएका छन् भने अर्कातिर अपराधिक मनोवृत्तिलाई मलजलसमेत गरिरहेका छन्। किनभने अपराधिक मनोवृत्ति पाल्नेहरुका लागि घटनाप्रधान सामग्री उदाहरणजस्ता भएका छन्। त्यसैले पछिल्लो समय महिला हिंसाका घटना पुनरावृत्ति हुनुमा सञ्चारमाध्यमहरु पनि धेरथोर दोषी छन्।
अधिकांश सञ्चारमाध्यमहरुबीच यस्ता समाचार छिटो सम्प्रेषण गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ। यद्यपि अपराधीहरुले के कस्तो सजाय पाए र पीडितले न्याय पाए पाएनन भन्ने विषयमा खोजमूलक समाचार बिरलै मात्र आउँछन्। यसो महिला हिंसामा संलग्न व्यक्ति र समूहले ‘समाज र कानूनले के गर्न सक्छ र?’ भन्ने मनोभाव विकास हुन्छ। त्यहीकारण हिंसाका घटना दोहोरिन्छन्।
दुईवर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको समाचार सामग्रीले सबैको ध्यानाकर्षण गरायो। अपराधीलाई सजाय दिलाउन नागरिक समाजले भरमग्दूर प्रयास गरे। तर, आजसम्म अपराधी पत्ता लागेको छैन भन्ने समाचार बेला बेला जनसमक्ष आइरहन्छ। अनुसन्धान कहाँ पुग्यो भन्ने विषयमा भने खोजमूलक सामग्री कम मात्र आउने गरेको छ।