अच्युतप्रसाद पौडेल ‘चिन्तन’
धेरै पहिले एउटा ऊँटले ठूलो तप गर् यो। ब्रह्माजीले खुसी हुँदै वरदान माग भने। ऊँटले बसीबसी खान पाऊँ भन्यो। अल्छी ऊँटलाई ब्रह्माले वरदान दिए। ऊँटको घाँटी चार सय कोस लामो भयो। अब चार सय कोसवरिपरिका सरसामग्री खान कुनै अवरोध भएन। आफ्नो इच्छाअनुसार सुतीसुती खान थाल्यो। विनापरिश्रम बसीबसी खाने बानीले ऊ बेस्सरी मोटायो। एक दिन स्याल आयो। मोटो घाँटी र डम्म परेको ऊँटको शरीर देखेर स्यालको जिब्रो रसायो। सुतेको ऊँटमाथि चढेर घाँटीको ताजा रगत चुस्न थाल्यो। जीउभन्दा धेरै ठूलो घाँटी भएको ऊँट यताउता चल्मलाउन र हल्लिन सकेन। बिचरो ऊँटको रगत स्यालले मनग्गै खाइदियो।
ऊँट र हाम्रा नेता र नेतृत्वको प्रवृत्ति या स्वभाव उस्तै छ। हाम्रो नेतृत्व धेरैजसो बालुवाटारकेन्द्रित हुन थालेको छ। नेतृत्व पनि सबैलाई बालुवाटारमै बोलाउँछन् अरूले नगरेको काम गर्न होइन, सधैं अरूले गरेको काम गर्न। यसरी कसरी परिवर्तन हुने ? चीनमा माओत्से तुङले गरेको काम गरिरहेको भए देङ सियाओ पिङ कसरी उदाउँथे र ? उनले देखाएको बाटामा हिँडेको चीन आज अमेरिकालाई उछिन्ने भइसकेको छ। हामीचाहिँ उही पुरानै सोचअनुसार अगाडि बढिरहेका छौं र जहाँको तहीं रहेका छौं।
नेता र नेतृत्वले शक्तिशालीसामु जोरी खोज्नु हुँदैन। अर्थोडक्स उही पुरानो सोच राखेर पनि हुँदैन। ठूलाठूला नदी र बर्खाको भेलमा ठूला, अग्ला रूख लडेर, पग्लेर र बगेर जान्छन्। नलच्कने रूखहरूको समस्या छ। भेल आउँछ, उडाएर लैजान्छ। लच्कने निगालो हेरौं न ! हावा आए पनि हल्लिदिने मात्रै, भेल आए पनि मुन्टोले भेललाई ढोगिदिने मात्रै ! कहीं पछारिनुको डर छैन। निगालो नरम छ, कमलो छ, पहिरोमा परे पनि अलितल पुग्छ फेरि जस्ताको तस्तै। ठूलो रूख झैं हेलिएर पल्लो सागरसम्म पुग्नै नपर्ने।