घरबाट हिडेका १३ औं दिनमा भोट (तिब्बत)को कुती पुग्दा घाम अस्ताउन लाग्दैथ्यो । ढुङ्गा र माटोले बनेका साना एकतले घरहरुको एक लाइनको कुतीबजार भेडा र खच्चर (त्यहाँको सामान ओसार्ने साधन) काहुलले भरिएको थियो ।
घरभित्रका पसलहरुमा एक छेउ नूनको थुप्रो थियो भने ऊन, छेरा (उनले बनेको ओछ्याउने), काम्लो (उनले बनेका ओढ्ने), घुमराडी (उनले बनेका पानी ओत्ने, सुत्दा ओढ्न पनि मिल्ने) जस्ता कपडा झुण्ड्याइएका थिए । चैतको मध्येमा हामी त्यहाँ पुग्दा पनि मुटु छेड्ने जाडो बाँकी नै थियो । २७ जनाको हाम्रो टोलीमा म सबैभन्दा कान्छो १६ वर्षे थिएँ ।
सिन्धुपाल्चोक जिल्लाको कुभिण्डेबाट हामी त्यहाँ नून लिन पुगेका थियौं । हाम्रै गाउँका अग्निप्रसाद सापकोटा अहिले सभामुख रहेकाले अग्निको गाउँभन्दा सबैले चिन्लान् ।
वि.सं.२०९६ सालमा जन्मेको म नून लिन कुती जाँदा त्यस्तै २००९ या ०१० साल हुँदो हो । हाम्रो गाउँनजिकका बजारहरु जलवीरे र बाह्रबिसेमा नून पाइए पनि त्यहाँ निकै महङ्गो (२५ पैसा पाथी धान पाइने बेलातीबजारमा २ रुपैयाँको १२ माना नून दिन्थे भने कुतीमा एक पाथी चामलको ४ पाथी नून पाइन्थ्यो । यस हिसाबले कुतीमा दुई रुपैयाँको १४ पाथी नून आउथ्यो) पर्ने हुँदा टाढा र कठिक यात्रा गर्नुपरे पनि सकेसम्म उतै जान्थे ।
काका, दाईहरुसहित गाउँलेहरुको हाम्रो त्यो टोली हाम्रै टोलीका अगुवाले चिनेका साहु (त्यहाँ सबै साहु थाक्से थिए) को घरमा बास बसेर खाने र सुत्ने बन्दोबस्त मिलाउन थाल्यो । त्यहाँ निकै चिज मानिने चामल यताकाले लग्ने हुँदा नेपालबाट नून लिन जानेहरुलाई बास पाउन त्यहाँ गाह्रो रहेनछ । भोली सखारै फर्किनुपर्ने हुँदा चामल र नूनसहित अरु सामग्री साट्ने काम बेलुका नै भयो ।
त्यस बेला कि, जाडो सकिएर फागुन लागेपछि जेठसम्म कि भने वर्षा सकिएर असोज लागेपछि मंसिरसम्म भोट गइन्थ्यो । कुभिण्डेबाट जलवीरे पुगेपछि भोटेकोशी झोलुङ्गे पुल (फलामका साङ्लामा काठका फलेक ओछ्याएर बनाइएको) बाट तरेर पाङ्लाकोट, देउराली, थगम, घिप्ले, लिस्तीमाईको पुछार, घुमथान, दुनागडी, झिरपु, तातोपानी, कोदारी, खासा (नेपालतर्फको) हुँदै हामी भोट छिरेकाथियौं ।
नेपालतर्फको खासामा नेपाल प्रहरीको चौकी थियो भने तिब्बततर्फको खासामा तिब्बती प्रहरीचौकी । तिब्बती प्रहरीले हामीले बोकेका भारी मात्र हेथ्र्याे, ओहोरदोहोर गर्न कुनै कागज प्रमाण खोज्दैनथ्यो/चाहिँदैनथ्यो । त्यहाँबाट अहिले मोटरबाटोको ३० किलोमिटर दूरीमा रहेको कुती पुग्न ३ दिन लाग्थ्यो ।
बाटो कति अप्ठ्यारो थियो भने, अहिले वर्णन गरिसाध्ये छैन । अक्कर भीर तर्न कतै साना भर्याङमा अडिएर भित्ता समाउनुपथ्र्यो त, कतै खुडकिलाहरु बनाइएको उकालो उक्लिदा झारबुटाहरुको साहारा लिनुपथ्र्याे ।
कतै बाटो भत्केको हुँदा आफैँले जोरजाम गरेर तर्नुपथ्र्याे । खच्चर, भेडासमेत ओहोरदोहोर गर्न नसक्ने नेपालतर्फको बाटोमा भारी बोकेर सम्हालिएर हिँड्नुपर्दा दिनभरिमा थोरै मात्र दूरी घट्थ्यो ।
तिब्बतमा पाइने नून हाम्रो बजारतिर २०२५ सालतिरदेखि पुगेको भारतीय नून जस्तो सग्लो र सफा हुँदैनथ्यो । खैरो र आकार पनि साना अनि कुटकिएका । तर पनि, भारतीय नून त्यता नपुगुञ्जेलसम्म भान्साको स्वाद र गाईबस्तुलाई अनिवार्य चाहिने नून लिन पुस्तौँपुस्तादेखि हामी तिब्बत जान्थ्यौं ।
चीनले खनेको अरनिको राजमार्गमा २०१८—१९ सालदेखि कच्ची बाटो नै भए पनि मोटर चल्न थालेपछि तिब्बतबाट नूनमोटरमा आउन थाल्यो र डोको थुन्से बोकेर जाने बाध्यता छुट्यो ।
त्यो बेला सिन्धुपाल्चोक, दोलखा, काभ्रे, रामेछाप जिल्लाका सबै नून लिन त्यतै जाने हुँदा बाटोमा दिनहुँ सयौं ढाक्रेको ओहोरदोहोर हुन्थ्यो । होटल थिएनन्, पैसा तिरेर खान र बस्न सक्ने मानिसहरु नभएकाले कसैले होटल थाप्ने कुरै आएन ।
त्यसैले, त्यत्रा हुललाई बास दिने नेपालतर्फ कोही थिएनन् । हामीले जाँदा र फर्किदा पनि कयौं रात रुखको आड वा खुला चौरमा त कयौं रात गुफामा बितायौं । तिब्बततर्फ भने चामल दिएपछि खान र बस्न दिन तयार हुन्थे । त्यसैले, त्यता घरमै खान र रात बिताउन पाइयो ।
म नून लिनभन्दा काका र दाईहरुसँग साथी मात्र गएको थिएँ । नौ जनाको हाम्रो परिवारलाई वर्षमा १४ पाथी नून भए पुग्नेमा कार्तिकमै हाम्रो परिवारले एक वर्षका लागि नून ल्याइसकेकाले मैले खाडीको कपडाले बनेका झोलामा आफूलाई ओड्ने र एक पाथी चामल मात्र बोकेको थिएँ । त्यो बेला निकै बलियाले ८ पाथीसम्म चामल बोक्थे भने सामान्यले ६ पाथी । त्यो सहित आफूले खाने अन्न, गुन्द्रुक, पकाउने—खाने भाँडाकँुडा र ओड्ने त बोक्नै पथ्र्याे ।
भोलिपल्ट बिहानै कुतीबाट फर्किंदा पनि मैले एक पाथी मात्र नून बोकें । अरुले भने ७—८ पाथी नूनसहित यतैबाट लगेको बाटोमा खाने अन्न, भाँडाकुँडा, ओड्ने र उनले बनेका ओड्ने, ओछ्याउने अनि ओड्ने घुम बोकेका थिए । जाँदा अधिकांश बाटो उकालो तथा फर्किदा ओरालो पर्ने हुँदा हामी १० दिनको बेलुका घर आइपुगेका थियौं ।
म गएको वर्षभन्दा दुई वर्षअघि मेरो जेठा दाई बाटोको धपेडी र कुतीको चिसोले हुनुपर्छ, ज्वरो आएर इन्तु न चिन्तु भएपछि सँगै गएका साथीले डोकोमा बोकेर घर ल्याइपुर्याएका थिए । घर आइपुगेपछि पनि निको नहुँदा उहाँको तेश्रो दिनमा मृत्यु भयो । म गएर फर्केपछि पनि अरु ८,९ वर्ष गाउँलेहरु नून लिन भोट गइरहे । तर, म भने गइन । अरनिको राजमार्गमा मोटर चल्न थालेपछि भोट जाने बाध्यता हट्यो ।
त्यो बेला हामी सबै नै काभ्रेको तेमालमा घरेलु तानमा बनेको खाडीको कपडा लागाउथ्यौं । कपडा बेच्न गाउँगाउँ तेमालेहरु नै आउँथे । दौरा, सुरुवाल, इष्टकोट सबै त्यही कपडाको खैरो रङ्गका हुन्थे । टोपी पनि त्यही कपडाको गाउँका दमाइँले सिउँथे । कुती वा अन्त जाँदा अन्न राख्न पनि खाडीको खास्टो नै प्रयोग हुन्थ्यो । ओडार र चौरमा रात बिताउनुपर्ने हुँदा नून लिन महिला जाँदैनथे ।
चामल, घिउ, मास, तोरी जस्ता नगदेबाली बेचेर पैसा बनाउन हामी भारी बोकेर भक्तपुरको ठिमी आइपुग्नुपथ्र्याे । घरलाई चाहिने तोरी पेल्ने कोल गाउँमै थिए । तर, पछिसम्म पनि हाम्रो तिर मिल थिएनन् । निकै पछि मात्र मैले कागजको नोट देखेको हुँ । त्यो बेला, ५, १०, २०, २५, ५० पैसाका डलर चल्तीमा थिए । एक रुपैयाँको डलर कमैसँग मात्र देखिन्थ्यो ।
कुतीमा मलाई अहिलेसम्म अनौठो लागेको प्रसङ्ग के छ भने, नूनसँग साट्न चामल भर्दा थाक्सेहरुले चुली पार्न चामललाई मुठीले कस्दा भात कसिँदा हुने जस्तै डल्ला बनाएका थिए । त्यसरी, चुली बनाउँदा चामल निकै चड्ने नै भयो । त्यो देखेर निकै अनौठो लागेपछि मैले घर फर्केर त्यसै गरी चामलको डल्ला बनाउने प्रयास गरें । तर, जति प्रयास गर्दा पनि सम्भव भएन । सायद, त्यहाँनिकै चिसो भएर त्यस्तो सम्भव भएको हुनुपर्छ तथा हाम्रो गाउँको हावापानी तातो भएकाले मैले त्यस्तो गर्न नसकेको हुनुपर्छ ।
कुती जाँदा वा फर्कदा तथा त्यहीँ पनि हाम्रोतिरका कोही ठगिनु र लुटिनुपरेको भने मैले सुनिन । राती ओडार, जंगल र खुलाचौरमा सुत्दा कतै जंगली जनावरसँग डराएको पनि मैले थाहा पाइनँ । राती जहाँ सुते पनि हामी आगो बालेरै सुत्थ्यौं । दाउरा खोज्दा नपाइएला भनेर हामीले घरबाटै साना–साना दाउरासमेत बोकेका थियौँ । खाना पकाउन तीन चम्का जोर्न त साना ढुङ्गा पाइहालिन्थ्यो । आगो सल्काउने झुलो र चकमक बिँडी सुर्ती खाने वा नखाने सबैले बोकेकै हुन्थे ।