विप्लव समूहका नेता ‘विरही’ नुवाकोटबाट रिहा भएलगत्तै पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।

बेलकोटगढी नगरपालिका १३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो।

साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ ।

गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौं, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो । आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको प्रतिक्रिया छ ।

नेत्रविक्रम चन्दको समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंशात्मक गतिविधिमा संलग्न हुन थालेसँगै राज्य संयन्त्रबाट विभिन्न बहानामा धरकपड, पक्राउसहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ ।
 

प्रकाशित मिति: : 2020-12-09 14:15:00

प्रतिकृया दिनुहोस्