चैनपुर नगरपालिकाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइट (फोहोरमैला सङ्कलन केन्द्र) को स्थापना गर्ने भएको छ।
एक हजार ७३ वर्गमिटर क्षेत्रफल जग्गामा नौ हजार ६०४ दशमलव ६ घनमिटर क्षमताको फोहरमैला विसर्जन केन्द्र निर्माण गर्ने नगरपालिकाले जनाएको छ।
अनुमानित रु तीन करोडको लगानीमा दुई वर्षभित्रमा योजना पूरा गर्ने गरी निर्माणको काम थालनी गरिने भएको छ।
चैनपुर नगरपालिकास्थित पोखरी बजार नजीक दाहालडाँडा छेउको सार्वजनिक जमीनमा फोरहमैला विसर्जन केन्द्रका लागि नगरपालिकाले वातावरणीय परीक्षणसमेत गर्ने भएको छ।
सेमी एरोबिक लेन्ड फिल्ड साइट मोडेलमा निर्माण हुने सो केन्द्रमा सड्ने र नसड्ने गरी फोहर छुट्याएर विसर्जन गरिने वडा नं ३ का अध्यक्ष बलबहादुर अधिकारीले बताए। सड्ने फोहरबाट प्राङ्गारिक मलसमेत उत्पादन गर्न सकिने उनको भनाइ छ।
नगरपालिकाले हालै फोहरमैला व्यवस्थापन केन्द्रका लागि प्रारम्भिक वातावरणीय परीक्षण सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सम्पन्न गरेको छ।
फोहरमैला व्यवस्थापन केन्द्रको वातावरणीय परीक्षणमा वायु प्रदूषण, दुर्गन्ध, पानी प्रदूषण, माटो प्रदूषण, भूमिगत जलस्रोत, व्यवसायजन्य सुरक्षा जोखिमजस्ता विषयमा परीक्षण गरिने वातावरण विज्ञ सन्देश पोखरेलले बताए।
केन्द्रका चैनपुर बजार, खराङ बजार, पोखरी बजार, नुनढाकी बिहीबारेलगायत शहरी क्षेत्रको फोहरमैलालाई व्यवस्थित गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले जानकारी दिए। रासस