असारे मासको दब्दबे हिलो,
छि मलाई घिन लाग्यो,
छि मलाई घिन लाग्यो,
पियारी ज्यानलाई फरिया दिँदा,
लौ बिर्सिन लाग्यो,
लौ बिर्सिन लाग्यो
होई हो ............
९२ वर्षीया आनन्द कुमारीको स्वरमा उक्त लोकगीत जोकसैलाई पनि सुनूँ–सुनूँ जस्तो लाग्छ। उनलाई झ्याउरे गीत खूब मन पर्छ। बाराको अमलेखगञ्जमा बुढेशकाल बिताइरहेकी उनी गीत गाउँदा उमेर नै बिर्सिन्छिन्।
उमेरले ९० काटेको छ तर मनमा बुढाबुढी पहिलो पटक हेटौंडामा फिल्म हेर्न गएको स्मरण ताजै छ। उक्त प्रसङ्ग स्मरण गर्दा उनी भावविह्वल भइन्। त्यसबेला हेरेको फिल्न ‘कुसुमे रुमाल’ अहिले पनि मनपरिरहेको छ।
आनन्द कुमारी कुनै चर्चित नाम होइन, एक आम नागरिक हुन्। चार बीस १२ वर्षलामोे दीर्घ जीवनमा थुप्रै आरोह–अवरोह देखेकी छन्। उनी एक जीवित इतिहास हुन्। अनेकौं परिवर्तन देखेकी छन्। भारतको सीमावर्ती शहर रक्सौलदेखि अमलेखगञ्जसम्म रेल चलेको पनि उनको स्मृतिमा ताजै छ।
वीरगञ्जदेखि करिब एक घण्टाकोे यात्रापश्चात् बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा २१ मा अवस्थित ‘हात्तीसार’ भन्ने बस्तीमा बिएल सम्वाददाता विमला गुप्ता र म ज्येष्ठ नागरिक आनन्द कुमारीसँग कुराकानी गर्न कात्तिक १७ गते बाराको ‘हात्तीसार’ पुग्यौँ। वृद्ध आनन्द कुमारीसँग करीब दुई घण्टा भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ।
उमेरले ९० वसन्त पार गरिसकिन् तर हरेक शब्दसँगै प्रकट हुने मुस्कान र सुमधुर स्वरका कारण उनीसँग कुरा गर्ने जोकोही पनि मन्त्रमुग्ध हुन्छ। कुराकानी उनको उमेर झल्कदैन। उनको नाम जस्तै मन र व्यवहार पनि स्वच्छ छ। तीन छोरा र दुई छोरीकी आमा उनी हुन्, आनन्द कुमारी। धादिड्ड जिल्लाको चातरामा थियो– उनको जन्मघर।
अमलेखगंजमा आफूमुनिका चारपुस्तासँगै उनको दिनचर्या राम्राेसँग बितिरहेको छ। कान्छो छोरा–बुहारी र दजनौं नाति–पनातिहरुसँग रमाइलो दिनचर्या बितिरहेको उनी बताउँछिन्।
अबोध बालिका आनन्द कुमारीलाई थाहै थिएन– उनको दाम्पत्य जीवन कहाँ र कसरी बित्छ ? विवाह नगरी माइतमै बस्ने उनको इच्छा थियो। कहिले आमाको पछ्यौरी र कहिले बाबाको औंला समातेर उकालो–ओरालो कुद्ने र आन्नद महसुस गर्ने ती नानीलाई नारायण मानन्धरको जीवन सँगिनी बन्नुपर्छ भन्ने कुरा के थाहा थियो र ?
पाँच दाजुभाइको बीचमा एउटी मात्र चेली थिइन्। पहाडी गाँउमा लोक भाकाको गीत गाउँदै, रमाउँदै डोको बोक्थिन्– घाँस काट्न। बाख्रा चराउन जड्डल जान्थिन्। घरसारको काममा बुबाआमालाई सघाउँथिन्। सखी सहेलीसँग रमाउँथिन्।
पहाडको फेदसँग छुट्टिएर कर्मथलो अन्यत्र होला भन्दै मनमा कहिल्यै सपना आएको थिएन। अमलेखगञ्जमा रेलमा काम गर्ने दाजु विदामा घर आएका थिए। फर्किनुभन्दा एक दिनअघि बरण्डामा चियाको चुस्कीसँगै दाइले आमालाई भने, ‘कान्छीलाई पनि सँगै लिएर जान्छु आमा। आलोपालो सबैलाई घुमाई दिन्छु। रेल कस्तो हुन्छ ? यिनले पनि हेर्नुपर्छ।’ घरसँगैको बारीमा गोलभेंडा टिपिरहेकी कान्छीको कानसम्म आमाछोराको आवाज पुगिरहेको थियो।
कान्छीको मन फुरुड्ड भएको थियो। आमाले अनुमति दिने संकेत थिएन। आमा यति मात्र भनिन्, ‘बुबासँग सल्लाह गर्नुपर्छ।’ आमा काखीमा गाग्री च्यापेर पानी ल्याउन तलतिर जान लागेकी थिइन्। मलिनो अनुहार बनाएकी कान्छीले अचानक आमाको अवाज सुनिन्, ‘ए कान्छी जा त, घाँस काटेर ले !’ आनन्द कुमारीलाई आमाको यस्तो अह्रावट आउँछ भनेर सोचेकी पनि थिइनन्।
आमाले अह्राएको मान्न नाम्लो र हँसिया लिएर घाँस काट्न निस्केकी उनी कहिल्यै नदेखेको तराई र रेलको कल्पनामा हराइन्।
दाजु अमलेखगञ्जबाट घर आउँदा त्यहाँको बारेमा सधैँ सुनाउने गर्थे। नयाँ ठाउँका काल्पनामा मन हराइरहेको थियो। अचानक मुखबाट आवाज निस्कियो, ‘ऐया !’ घाँसको सट्टा हँसिया बुढी औंलामा परेछ। संयोग, छाला मात्रै काटेछ।
राति खाना खाने बेलामा आमाले भनिन्, ‘कान्छी, भोलि तिमी पनि दाजुसँग जाँदैछौ।’ आनन्द कुमारीले अझै बिर्सेकी छैनन्, ‘आमाको मुखबाट यति कुरा सुनेपछि मन कति खुशी भएको थियो भनेर वर्णन गर्न साध्य छैन। खुशीको कारण औलाको घाउ निको भएको जस्तो लाग्थ्यो।’
चार वर्षको हुँदा १९९० सालमा ठूलो भूइचालो गएको अलि–अलि सम्झना छ। उनले भनिन्, ‘मालपोत तिर्न धादिङबेसी जान्थे बाहरु।’
शिक्षादीक्षाको सवालमा उनले हाँस्दै भनिन्, ‘कालो अक्षर भैंसी बराबर भनेर भन्छन् नि, त्यस्तै छु म। हाम्रो पालामा स्कूल नै थिएन। त्यसैले स्कूल जान पाइएन। पढेकै छैन। जानेकै छैन। बरु छोराछोरीलाई चाहिं स्कूल पठाइयो। छोराछोरी स्कूल जान पाए अलि अलि पढ्न पनि पाए।’
उनलाई लागेको थियो, “बिहे गर्दिनँ। माइतै बस्छु।’ तर, देवको इच्छा अर्कै थियो। श्रीमान् काठमाडौंका थिए। जागिरको सिलसिलामा श्रीमान् अमलेखगञ्जमा बस्थे। आनन्दकुमारीका दाजुको उनीसँग सामान्य परिचय थियो।
बिहे नगर्ने, माइतै बस्ने भनेर बसेकी थिएँ। २५ वर्षको उमेरमा बल्ल बिहे भएको थियो। अमलेखगञ्ज आएपछि दाइले बिहे गर्नुपर्छ भनेर मेरो दाइले बिहे गरिदिनु भएको हो।
बच्चा कसरी हुर्काउनुभयो ? उनी भनिन्, ‘दुःखसुख गरेर सन्तान पालेँ। अहिलेको जस्तो मीठो मसिनो खान पाइएन। ढिँडो, रोटो, साग, सिस्नु यस्तै खुवाएर सन्तान हुर्काएँ।’
रेलको अनुभव कस्तो छ ? बिएल नेपाली सेवाको जिज्ञासामा उनले भनिन्, ‘बिहान माल गाडी आउँथ्यो, दिउँसो चाहिं टईन (ट्रेन) आउँथ्यो। त्यसैलाई ‘पसिन्जर’ भन्थ्यो। ६ बजे मालगाडी आइपुग्थ्यो। ९ बजे फर्किन्थ्यो। दिउँसो पसिन्जर आउँथ्यो।’
दुई पटक रेल चढेर वीरगञ्ज गएको उनलाई सम्झना छ। उनले भनिन्, ‘पहिला पहिला चा“डै विवाह गरिदिन्थे। तर अहिले चाहिं २० बर्ष २२ बर्षको नहुँदासम्म विहे हुँदैन भन्छन्।’
लोकगित सुनाउन आग्रह गर्दा उनले असारे भाका सुनाइन्, ‘बाबरजीको गैरी खेत, पानी है सिरुवा, टपक्कै टिपी माथैमा लाउँला, बाबरी बिरुवा।’ यो असारे लोकगीत गाउँदै हाँसेको उनको मुहार साँच्चै खुलेको थियो।
उमेरमा पनि आनन्द कुमारीको जाँगर घटेको छैन। छोरा, बुहारी र नाति–नातिनाहरुले काम नगर्न भन्छन् तर उनी बारीमा तरकारी र फलफूलको हेरचाह गर्न छाड्दिनन्। घुमफिर गरिरहन्छिन्। छोराछोरी, बुहारी र नातिनातिनाको ममत्वका कारण बा“चिरहेको बताउँछिन्। उच्च रक्तचापबाहेक केही रोग छैन उनलाई। यस्तै हाँसीखुसीका साथ उनको जीवन बितिरहोस्। शुभकामना।