अध्यक्षज्यू, श्रद्धेयगण, महिला तथा सज्जनवृन्द,
मलाई माफ गर्नुहोला किनभने यो सम्मेलनमा भाग लिन नेपाल आएर मैले यसका सभा-समारोहमा सहभागी हुन सकिनँ, जसरी एउटा प्रतिनिधिले सहभागी हुनुपर्ने थियो । तर मलाई राम्ररी थाहा छ, म शारीरिक रूपमा एउटा अति सिकिस्त मान्छे हुँ । म यो सम्मेलनका सभा-समारोहका तनाव र बोझ सहन गर्न अति नै असमर्थ छु । यो सम्मेलनप्रति अनास्था भएर म अनुपस्थित भएको होइन, बरू मेरो व्यक्तिगत अवस्थाले यो सम्मेलनका सभा-समारोहलाई मैले न्याय गर्ने नसकेको हो ।
सायद यो सम्मेलनमा मेरो अनुपस्थितिकै कारणले होला, मलाई यो भाषण दिन अनुरोध गरिएको छ । मैले त्यसलाई स्वीकारेँ, तर यहाँ पनि मलाई छक्क पारिएको छ । मलाई यहाँ बोल्नुपर्छ भनेर खासै राम्ररी जानकारी थिएन । तर पनि कुन विषयमा बोल्ने भनेर मलाई सोधियो । मैले “बुद्ध धर्ममा अहिंसा” भन्ने विषय उल्लेख गरेँ। तर, यो सम्मेलनका सहभागीमध्ये बहुसंख्यकले के इच्छा गरेका रहेछन् भने मैले “बुद्ध धर्म र साम्यवाद” बारे बोलूँ । यस विषयमा मैले साधारण सभामा, पहिलो साधारण सभामा, प्रसंगवश हल्का संकेत गरेको थिएँ ।
विषय परिवर्तन गर्ने यस्तो सुझाव स्वीकार्न म सहजै तयार छु । तथापि, मैले के भन्नैपर्छ भने यति ठूलो, बडेमानको विषयसँग साक्षात्कार गर्न, मलाई भन्न दिनुहुन्छ भने— विशाल विषयलाई सामना गर्न यो क्षणभरको समयमा म तयार हुन सक्दिनँ । यो त्यस्तो विषय हो, जुन विषयले आधा विश्वलाई वशमा पारेको छ । र, मैले के पनि फेला पारेको छु भने यसले अन्य देशका मात्रै होइन, बुद्धधर्मी देशका धेरै विद्यार्थीलाई पनि वशमा पारेको छ ।