राजनीतिक आर्थिक सामाजिक, भौतिक परिवर्तन, जातीय, कुसंस्कार कुरीति, धार्मिक रितिथिति बदल्ने आवाज गगनभेदी भएको छ।
कुरिति र कुसंस्कारले जडो गाडेर उल्टो बनेको यो समाजलाई ठिकठाक पार्ने भावना घनिभूत हुँदै गएको छ।
समग्र सामाजिक समस्यालाई यो समाजले सजिलै स्वीकार गरिरहेको छ भने यसका नाइकेहरु कुसंस्कार हस्तान्तरण गरिरहेका छन्।
झोला भित्र परिवर्तन प्याक गरेर यात्रा गरिरहँदा सुरुसुरुमा हल्का लाग्छ। तर, जति पाइला अघि बढ्दै गयो त्यति नै गर्हुंगो लाग्छ। जसले परिवर्तनको भोक एकाएक बढाउँछ।
जीवन गर्वदानको पहिलो प्रहरबाट नमरुन्जेलसम्मका लागि संघर्ष हो। त्यही बीचमा राजनीतिक सघंर्ष, पढाइको लागि सघंर्षहरु भए र हुँदैछन्। डार्बीनले नौ कक्षामै सिकाएका थिए बाँच्नको लागि संघर्ष गर्नुपर्छ भनि।
अहिले हामीले सदियौंदेखि भोगेको पीडाको लागि, हेपाइचेपाइविरुद्ध, शोषण दमनविरुद्ध संघर्ष गरिरहेका छौं। जुन अविराम चलिरहने छ।
समाजले चलाएको विवाह संस्कारले सानैमा पीडा खेप्ने बालबालिका निम्ति, युगौदेखि माथि नउठेका कथित तल्लो जातिको न्यायका लागि पनि संघर्ष जारी छ।
दबिएकाहरुको लागि बाटाहरु हजार हुन सक्छन् तर, गन्तव्य एउटौ हो। जसको खोजी अविराम यात्राले गर्नेछ।
सावुन र समय नपाएर नधोइएको जिग्रीङ्ग कपाल हुँदा, ओठ पटपट फुटेर चिरा पर्दा, नाकबाट सिगान चुइदा सहज मान्नेहरु थिचिएका हातहरुमा कलम हुँदा असहज मान्छन्।
उनीहरुविरुद्ध नभई भोकमरीविरुद्धको युद्ध लडिरहँदा समेत पाइतालाको धुलो मात्र सम्झिन्छन्। जुन कुनै संयोग होइन।
त्यसैले कहिले पाइतालाहरु बढ्दै जान्छन्, कहिले रङ्गीन सपनाका कारण पाइतालाहरु छुट्दै जान्छन्।
तर, गोरेटो बनिरहेको छ। सहयात्री कम वा बढी हुँदा संघर्षको मापन हुन सक्दैन। त्यसैले पाइतालाहरु निराश हुँदैनन्। अब पइतालाहरु जीवित छन् त केवल संघर्षको लागि।
उद्देश्यहरु सादा र सरल छन्। राज्यले २५० वर्ष पछि परेको समुदायको पीडा, भावना, सपना र आकाङ्क्षाहरुको बारेमा छलफल होस् उनीहरुको दैनिकीलाई लिएर बहस होस् भन्ने हो। तर राज्य तिललाई पहाड मानिरहेको छ। पइतालालाई शरीरको अंग मानिरहेको छैन।
तर,अब पइतालाहरु बिउँझदैछन्। उनीहरु एउटा सुन्दर भविष्यको निम्ति लड्दैछन्। अझ भनौ अन्तिम युद्ध लड्दैछन्।
पइतालाको निम्ति भनेर संघर्ष गरेका, लडेका र कारमाट गरेकाहरुले समेत पाइला पाइलामा धोका दिँदै गएपछि पइतालाहरुले अन्तिम युद्ध छेड्नुको विकल्प भएन। बरु शरीरबाट अलग्गिएर बस्नु किन नपरोस्।