सत्तारूढ दलभित्रको कचिंगल उत्कर्षमा पुगेको छ। सिद्धान्तका लागि भएको द्वन्द्व नभई मात्र शक्ति लिप्साका कारण यो परिस्थिति उत्पन्न भएको छ। दलहरूबीच एकता प्रक्रियाले लामो समय लिई पाँच वर्षको अवधिलाई आधाआधा बन्डा गरेर राज गर्ने सहमतिका साथ कपाली तमसुक गरेका अध्यक्षद्वयबीचको असन्तुष्टि सतहमा छताछुल्ल भएको छ।
अध्यक्षद्वयले आआफ्नो समूह तयार गरी गणितीय आधारमा अघि बढ्दा स्थिति नाजुक भइराखेको छ। उत्पन्न विवाद समाधानका लागि गत भदौ २६ गते स्थायी समितिको बैठकबाट अध्यक्षद्वयबीच जिम्मेवारी प्रस्ट पार्ने काम भएको थियो। प्रचण्डले कार्यकारिणी अध्यक्ष भई पार्टी सञ्चालन गर्ने र ओलीले प्रधानमन्त्रीका रूपमा सरकार चलाउने। दल र सरकार सञ्चालन गर्दा महत्त्वपूर्ण विषयमा अध्यक्षद्वयबीच समझदारी गर्ने सहमतिसहितको निर्णय भएको थियो।
समस्याका कारण
सैद्धान्तिक हिसाबले विपरीत धारमा रहेका दुई साम्यवादीको एकता नै गठबन्धन मात्र बन्यो। सत्तामा पुग्नका लागि क्षणिक उपायका रूपमा दलीय मेलमिलापको आवरणमा मात्र यी दल देखा परेका हुन्। यी दुई दलबीच सबै प्रकारका मतभेद र मनोमालिन्यता समाप्त गरी भएको मेलमिलाप र एकता थिएन। प्रधानमन्त्रीकै भाषा सापट लिँदा यो दलीय मोर्चा मात्र थियो। स्वार्थका कारण एकत्रित बनेका हुन्। स्वार्थ पूरा हुन नसकेको अवस्थामा यो दलीय रोइलो प्रारम्भ भएको हो। पूर्वएमाले खेमा अहिले पनि आफ्नो समूहमा आबद्धता दिएर बसेको छ। यस समूहभित्र विभिन्न झुन्ड उपदलको हैसियतमा स्थापित भएर बसेका छन्। उनीहरूको स्वार्थपूर्तिमा जतिखेर थोरै व्यवधान पुग्छ। समस्या सृजना गर्ने कार्य प्रारम्भ हुन्छ। त्यही तीनवटा दलीय उपगुट कमरेड प्रचण्डसँग गोलबद्ध हुन पुगेका छन्।