मधु राई
युगान्डाका कतिपय गाउँमा हिंसा पीडित महिलाको पक्षमा छिमेकीहरुले नै खबरदारी गर्ने गरेको युनिसेफको महिला हिंसा न्यूनीकरण सम्बन्धी प्रतिवेदनमा उल्लेख छ। त्यहाँ कसैको घरमा झगडा शुरु हुने बित्तिकै छिमेकीहरु थाल ठटाउँदै भेला हुन्छन्। त्यतिले नपुगे प्रहरीलाई खबर गरेपछि स्थिति साम्य हुन्छ।
हामीकहाँ ठीक उल्टो छ। देखे पनि नदेखे झैं गर्ने र सुने पनि नसुने झैं गर्ने छिमेकीहरु कुनै अकल्पनीय दुर्घटना भए मात्र जम्मा हुन्छन्। मैले किशोरावस्थामा घरेलु हिंसा पीडित छिमेकीहरुलाई नजिकबाट देखेँ। पीडितलाई सहयोग गर्न वेलावेला छिमेकी गुहार्दै पनि हिंड्थें। छिमेकी भेला हुन थालेपछि झगडा साम्य हुन्थ्यो।
बिहेपछि ठ्याक्कै त्यस्तै घरेलु हिंसा पीडित छिमेकीहरुको टोलमा बसाइ सरियो। करीब २० वर्षअघिका घटना अहिले पनि ताजै छन्। कतिपय छिमेकी महिला रातबिरात ‘म्याम मलाई त श्रीमानले कुटेर घरबाट निकालिदिए कहाँ बस्नु?’ भन्दै आउँथे। केहीलाई आफ्नै निवासमा गाँस र बासको व्यवस्था मिलाउँथें। केही दिनपछि श्रीमान् आएर अबदेखि कुटपिट नगर्ने भन्दै लिएर जान्थे।
कतिपयका श्रीमानलाई त प्रहरीकै जिम्मा लगाएँ। केही दिनपछि तीनै महिलाहरु ‘अबदेखि झगडा गर्दैन अरे उसलाई छोडिदिनु म्याम’, भन्दै आउँथे। यसरी झगडा गरेर रातबिरात घरबाट भाग्ने महिला प्रायः मधेशी मूलका थिए।