६९ वर्षमा पत्रकारिता सुरु गरेका सिरहाका हरिपतिलाल

कपाल सेतै फुलेका छन्। मुखको तल्लोपट्टि सबै दाँत फुस्किसकेको छ, तीन वटा दाँतलाई छोडेर। तर, ती पनि सबै हल्लिएका छन्। माथिपट्टि पाँच वटा दाँत बाँकी छ तर ती पनि पान सेवनले खिइँदै गएका छन्।

यसपालिको हिउँदमा उनी ७० वर्षमा प्रवेश गर्दैछन्। सबैले नाना (हजुर बुवा) भनेर बोलाउँछन्। उमेरले नेटो काटिसक्दा यी बृद्ध अझै समाजमा उज्यालो छर्न चाहन्छन्। विकृति र विसंगतिविरूद्ध आवाज उठाउन चाहन्छन्। त्यसैले एक बर्षअघि मात्र उनले पत्रकारिता सुरु गरे। 

६९ बर्षको उमेरमा पत्रकारिता सुरु गर्ने सिरहा सुखीपुर नगरपालिका–८ का ती व्यक्ति हुन्, हरिपतिलाल कर्ण। बुढेसकालमा उनले प्रकाशन सुरु गरेको मिथिला आवाज साप्ताहिकले यतिबेला सुखीपुरमा चेतनाको दियो बालिरहेको छ। 

हरिपतिलाल मिथिला आवाज साप्ताहिकका प्रकाशक पनि हुन। प्रकाशक भए पनि समाचार संकलन आफै गर्छन। टाईप पनि। आजभोलि उनी समाचार ईमेल गर्दैनन्, ले–आउट पनि आफै गर्छन। 

अहिले उनको घरमा वाईफाई पनि जडान गरिएको छ। उनी चौविसै घण्टा सामाजिक सञ्जालमा व्यस्त हुन्छन्। देश–दुनियाँलाई सुक्ष्मढंगले पनि अध्ययन गरिरहेकै हुन्छन्। लहानमा छापिने उनको पत्रिका हरेक आइतबार प्रकाशन हुन्छ। 

उनी सुखीपुर बजार र आसपासको गाउँमा साइकल चढेर आफै बाँड्छन्। अर्थात पत्रिका बाँड्ने हकर पनि उनी आफै हुन्। भन्छन्, ‘सातामा एक पटक साइक्लिङ गर्दा अर्के आनन्द महसुस हुन्छ। पत्रिका बाँड्न निस्किका बेला सबैसँग ‘हाइ–हेल्लो’ पनि हुन्छ।

पान खाने पैसाले पत्रिका

पत्रिका निकाल्नेभन्दा अरु काम छैन, अहिले उनको। निजी स्रोतको तलव खाने गरी स्थानीय श्री जनता माध्यामिक विद्यालयको लेखापाल जागिर छाडेर बसेका उनलाई छोराहरूले दिएको पकेटमनिबाट पत्रिका निकालिरहेका छन्। 

उनका दुई भाई छोरा छन्। जेठा छोरा लेखापाल रहेको जनता मावी सुखीपुरमा शिक्षक छन्। कान्छो छोरा भारतको अहमदावादमा प्राइभेट अस्पतालमा काम गर्छन। 

जेठोले उनलाई मासिक खर्च ४ हजार दिन्छन् भने कान्छाले ३ हजार। छोराहरूले दिएको पकेट खर्च मध्ये साढे पाँच हजार त मासिक पत्रिका मात्र निकाल्न खर्च हुन्छ। हरिपतिलालले भने, ‘पत्रिकाको आम्दानी शून्य छ।’ 

सुखीपुर बजार मधेशका बजारमध्ये धेरै पुरानो बजार मानिन्छ। यो बजारमा उनको साप्ताहिक पत्रिका चर्चित पनि छ। तर विज्ञापन भने कसैले नदिएकोमा उनको चित्त दुःखाई छ। अरु त अरु भइहाले सुखीपुर नगरपालिकाले समेत विज्ञापन नदिएको गुनासो उनले गरेँ। भने, ‘कमसे कम नगरपालिकाले मासिक विज्ञापन दिए पत्रिका निकाल्न सहज हुनेथियो।’

उनले जागिरे हुँदै पत्रकारितामा लागेका आफ्ना नाति पत्रकार रोयण्टर मण्डलको आग्रहमा पत्रकारितामा चासो राख्न थालेका हुन्। 

राजनीतिमा समेत चासो राख्ने उनी कवि समेत हुन्। सुखीपुरमा आयोजना हुने धेरै साहित्यिक कार्यक्रममा उनले कविता समेत वाचन गरेका छन्। रेडियो नेपालबाट प्रसारण हुने साहित्यिक कार्यक्रममा पनि उनले कविता वाचन गरिसकेका छन्।    

व्यवसायिकताको नाममा पत्रकारिता बिकृत बन्दै गइरहेकोमा उनले निकै चिन्ता जनाए। पत्रिकाले जथाभावी संवाददाताको कार्ड दिने र संवाददाताको कार्ड लिएर पत्रकरितालाई दुरुपयोग गर्नेले क्षमतावान पत्रकारको स्वाभिमानमा समेत असर परेको उनको टिप्पणी छ।

‘पत्रकारिता भनेको वाच–डग हो। समाजको बिकृत पाटोलाई उजागर गर्ने काम पनि पत्रकारको हो,’ उनले भने, ‘तर चेतनाशून्य मान्छेको भिड बढ्दै जाँदा पत्रकारिता बिकृत बन्दै गएको छ। पैसा कमाउन पत्रकारिता होइन, व्यापार गर्नुपर्छ।’ 

पत्रकारिताको सामान्य फर्मूलासमेत नबुझ्ने संवाददाताले आफू पत्रकार हो भनेर मनलाग्दि गर्दा समग्र पत्रकारिता बद्नाम हुने खतरा बढेको उनको बुझाई छ। त्यसैले उनी भन्छन्–‘यस बिषयमा कडा नियमनको खाँचो छ।’

प्रकाशित मिति: : 2020-12-02 18:14:00

प्रतिकृया दिनुहोस्