सोमबार, १५ डिसेम्बर २०२५

कोरोना खोपमा असमान पहुँच

News Image
तस्बिर : अन्नपूर्ण पोष्ट
• • •

डा. घनश्याम भट्ट

खोप (भ्याक्सिन) कुनै निश्चित रोगको प्रतिरोधक क्षमता वृद्धि गर्ने प्राणीको शरीरको जैविक तयारी हो। ल्याटिन भाषाको शब्द भ्याक्सिनियाबाट भ्याक्सिन शब्दको उत्पत्ति भएको हो। अठारौं शताब्दीमा बेलायतका एकजना चिकित्सक एडवर्ड जेनरले गौशितला (काउपाँक्स) नामक रोगको रोगजनक भ्याक्सिनियाले शीतला (स्मलपाँक्स) रोगको प्रतिरोध गर्न सक्ने तथ्य पत्ता लगाए। उनले एकजना गौशितलाले संक्रमित मानिसको घाउको पिप निकालेर एकजना स्वस्थ मानिसको पाखुरामा काटेर बनाएको सानो घाउमार्फत घुसाइदिए। ती मानिसलाई शीतलाले आजीवन छोएन। यो प्रक्रियालाई पछि ‘भ्याक्सिनेसन’ भनियो तर त्यसबेला यो शीतला रोगमा सीमित थियो। त्यसको करिब सय वर्षपछि फ्रेन्च वैज्ञानिक लुई पास्चरले रेबिजको भ्याक्सिन बनाएपछि भ्याक्सिनले व्यापकता प्राप्त गर्‍यो। खोप (भ्याक्सिनेसन) का कारण शीतलासहित कतिपय अन्य रोग पूर्णरूपले उन्मूलन भएका छन्। जनस्वास्थ्यका लागि आधुनिक चिकित्सा विज्ञानमा भ्याक्सिनलाई एक प्रभावशाली साधनका रूपमा लिइन्छ।

गत वर्ष विश्वमा कोरोनाको संक्रमण देखिनेबित्तिकै वैज्ञानिकहरूले सन् २०२० को अन्त्यसम्ममा कोरोनाको खोप पत्ता लाग्न सक्ने अनुमानपश्चात् संसारको प्रतीक्षा कोरोना खोप अनुसन्धानको सफलतामा थियो। क्षमतावान् राष्ट्रहरूले कोरोनाको अनुसन्धान, खोप निर्माण, खोप उत्पादन र कोभिड– १९ को उपचार पद्धतिमा समय र स्रोत खर्चे। यस वर्षको अन्त्यसम्ममा कम्तीमा दुइटा कम्पनीका व्यापारिक खोप बजारमा आउने तयारीमा छन्। निर्माणाधीन खोपको परीक्षण सम्पन्न नहुँदै कतिपय कम्पनीले तीव्ररूपमा खोप उत्पादन गरिसकेका छन्। सन् २०२१ को अप्रिलसम्ममा थुप्रै खोपको व्यापारिक उत्पादन बजारमा देखिने संकेत मिलेको छ। कोरोनाको खोप निर्माणमा धेरै समय लागेन तर खोपको मूल्य, आपूर्ति, ढुवानी, रसद (लजिस्टिक्स) र दक्ष जनशक्ति अभावमा संसारका धेरै नागरिकको पाखुरासम्म यो खोप पुग्न निकै समय लाग्ने देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!