बेलायतले आउँदो साता कोरोना भाइरसविरूद्धको खोपलाई स्वीकृति प्रदान गर्ने भएको छ।
७ डिसेम्बरसम्म फाइजर र बायोएनटेक जस्ता भ्याक्सिनलाई स्वीकृति दिन लागेको बेलायतले डिसेम्बरको अन्त्यसम्म सर्वसाधारणलाई खोप लगाइसक्ने सम्भावना प्रबल छ।
बेलायती समाचार संस्थाले यो न्युज सार्वजनिक गरेको केही समयपछि नै अमेरिकाले १० डिसेम्बरमा भ्याक्सिनलाई स्वीकृति दिने बताएको छ।
अमेरिकाको ‘फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) को एडभाइजरी बैठक १० तारिखमा बस्दैछ। यही दिन भ्याक्सिनलाई इमर्जेन्सी स्वीकृति दिनसक्ने अमेरिकी मिडियाको भनाई छ।
ब्लुमबर्गको रिपोर्टअनुसार बेलायतले स्वीकृति प्रक्रियालाई तीब्र बनाएको छ। हालसम्म चीन र रुसले मात्र आफ्नो जनतालाई खोप लगाउन स्वीकृति प्रदान गरेको छ।
चीन र रुसको यो निर्णयमा प्रश्न पनि उठेको थियो। किनभने यी दुबै देशले ठूलो संख्यामा परीक्षणको नतिजा नआउँदै खोप लगाउन स्वीकृति प्रदान गरेका थिए।
बेलायत सरकारले खोप लगाउने कार्यको सुरुवात क्रिसमसभन्दा अगाडिदेखि हुने सम्भावना रहेको बताएको छ। बेलायतको औषधि परीक्षण गर्ने ‘मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटर एजेन्सी’ ले भनेको छ– सुरक्षाप्रति आश्वस्त हुँदै जति छिटो हुनसक्छ हामी फाइजरलाई स्वीकृति प्रदान गर्नेछौं।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका प्रमुख एन्थोनी फाउसीले पनि डिसेम्बरको अन्त्यसम्म खोप लगाउन सुरु गरिने बताए। फाउजरले पनि अमेरिकामा इमर्जेन्सी प्रयोगका लागि स्वीकृति लिन एफडीएले आवेदन दिएको थियो।
फाइजर र बायोएनटेकले अन्तिम फेजको परीक्षणमा कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभाव भएको दावी गरेको छ।
यसअघि अमेरिकाको कम्पनी मोडर्नाले पनि ९४.५ प्रतिशत प्रभावशाली भएको दावी गरेको छ। हालसम्म फाइजर–बायोएनटेक, मोडर्ना, रुसको स्पुतनिक–पाँच र अक्सफोर्ड विश्वविद्यालय–एस्ट्राजेनेकाको भ्याक्सिनको तेस्रो चरणको नतिजा प्रकाशित भएको थियो।
जर्मनीका अधिकारीले पनि युरोपेली संघको रेगुलेटरले स्वीकृति प्रदान गरेको खण्डमा डिसेम्बरमा मानिसलाई खोप लगाउने प्रक्रियाको सुरुवात गर्ने बताएको छ। जर्मनीको स्वास्थ्य मन्त्रीले बावरियन रेडियोलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामी आश्वस्त छौं, १५ डिसेम्बरसम्म फाइजरको खोपको स्वीकृति प्राप्त हुनेछ।’
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार युरोपेली संघको औषधिलाई लाइसेन्स दिने युरोपेली मेडिसिन एजेन्सीले अघिल्लो साता फाइजर–बायोटेक र मोडर्नाको भ्याक्सिनलाई स्वीकृति दिने सम्भावना छ।
अघिल्लो साता यो सम्भव भएको खण्डमा २७ देशमा डिसेम्बरदेखि भ्याक्सिन लगाउने कार्यको सुरुवात हुनेछ।
बेलायतले ७ भिन्न कम्पनीसँग ३५ करोड भ्याक्सिन खरिद गर्ने सहमति पनि जनाइसकेको छ।